कतार विश्वकप २०२२

नेदरल्यान्डसले अन्तिम खेल कुर्नुपर्ने

आम्सटरड्याम । अन्तिम १० मिनेट सम्हालिन नसक्दा शनिबार मोन्टेग्रोसँग २-२ को बराबरीमा रोकिएसँगै नेदरल्यान्डसले अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट हुन अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।

२५औं मिनेटमा मेम्फिस डिपेको गोलबाट नेदरल्यान्डसले अग्रता लिएको थियो । ५४औं मिनेटमा डेन्जेल डम्फ्रिजको पासमा डिपेले नै नेदरल्यान्डसको अग्रता दोब्बर पारेका थिए ।

८२औं मिनेटमा इलिजा भुकोटिचले मोन्टेग्रोबाट गोल गर्दै टोलीको पुनरागमन सम्भावनालाई जिवित राखेका थिए । त्यसको चार मिनेटपछि नै निकोला भुज्नोभिचले गरेको गोलमा मोन्टेग्रो खेलमा फर्किएपछि नेदरल्यान्डस अंक बाड्न बाध्य बनेको थियो ।

शुक्रबार राती नर्वे लात्भियासँग गोलरहित बराबरीमा रोकिएपछि नेदरल्यान्डसले एक खेल अगावै विश्वकपको टिकट काट्ने सुनौलो अवसर पाएपनि त्यसको सदुपयोग भने गर्न सकेन ।

विश्वकपको युरोपियन छनोटअन्तर्गत समूह ‘जी’ मा रहेको नेदरल्यान्डसले नौ खेलमा २० अंक जोडेको छ । त्यस्तै समान खेलबाट १२ अंक जोडेको मोन्टेग्रो भने तालिकाको चौथो स्थानमा छ ।