इङ्लिस लिग कप

चेल्सी लिग कपको क्वार्टरफाइनलमा

लन्डन । साउथहमटनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै चेल्सी इङ्लिस लिग कप (एएफएल) को क्वार्टरफाइनल प्रवेश गरेको छ ।
 

मंगलबार राती निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
 

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा ४४औं मिनेटमा काई हाभार्टेजले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ४७औं मिनेटमा चे एडम्सले साउथहमटनलाई खेलमा फर्काएका थिए ।
 

पेनाल्टी सुटआउटमा चेल्सीका मार्कोस ओलन्सो, कालुम हडसन ओडोई,बेन चिलवाल र रिच जेम्सले गोल गरेका थिए भने मेसन माउन्टको पेनाल्टी साउथहमटनका गोलकिपर फ्रासर फोस्टरले बचाएका थिए ।
 

साउथहमटनका एडम आर्मस्ङ ओरिल रोमियु र साने लङले गोल गरे । विलियम स्मलबोन र थियो बाल्कोट भने पेनाल्टी सुटआउटमा गोल गर्न असफल रहे ।