एल क्लासिको

एल क्लासिकोमा रियाल मड्रिड विजयी

बार्सिलोना । डेविड अलाबा र लुकास भाज्क्वेजको गोलमा रियाल मड्रिडले सिजनको पहिलो एल क्लासिकोमा २-१ को जित हासिल गरेको छ ।

रोड्रिगोको पासमा अलाबाले गोल गर्दै ३२औं मिनेटमा भ्रमणकारी रियाललाई अग्रता दिलाएका थिए । लुकास भाज्क्वेजले इन्जुरी समयको चौथो मिनेटमा अर्को गोल गर्दै रियालको जित पक्का गरे ।

बार्सिलोनाले तिब्र दबाब दिइरहेको अवस्थामा काउन्टर अट्याकमा प्राप्त अवसरलाई गोलमा परिणत गर्दै भाज्क्वेजले रियाललाई एल क्लासिकोमा महत्वपूर्ण जित दिलाएका थिए ।

काउन्टर अट्याकमा मार्को एसेन्सियोको प्रहार बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले फर्काउँदा रिबाउन्डमा प्राप्त बललाई भाज्क्वेजले गोलमा परिणत गरेको थियो ।

अन्तिम समयमा खेलमाथि नियन्त्रण कायम राखेको बार्सिलोनाका लागि सर्जियो अग्विरोले इन्जुरी समयको सातौं मिनेटमा एक गोल फर्काए । तर खेलमा पुनरागमन जनाउन अग्वेरोको गोल निक्कै ढिलो गरी भएको थियो ।

सर्जिनो डेस्टको क्रसलाई गोलमा परिणत गर्दै पहिलो पटक एल क्लासिको खेलिरहेका अग्विरोले बार्सिलोनाको जर्सीमा गोलको व्यक्तिगत खाता खोलेका थिए । अर्जेन्टिनी स्ट्राइकर अग्वेरो यसै सिजनमा मात्र इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट बार्सिलोना सरुवा भएका थिए ।