उपमेयर कप राष्ट्रिय महिला फुटबल

अमिसाको लयमा बाँसगढीको सान

काठमाडौं ।   अमिसा कार्कीको गोल लयले निरन्तरता पाएको दिन बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा स्याङ्जाको पुतलीबजार नगरपालिकामाथि गोलको वर्षा गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बाँसगढीले पुतलीबजारमाथि १८-० को रवाफिलो जित हात पारेको हो । 

बाँसगढीको जितमा अमिसाले नाै गोल गरिन् । त्यस्तै रेनुका हमालले पाँच, दुर्गा कुमारी चौधरीले दुई तथा सुस्मिता चौधरी र मनिका घर्ती मगरले समान एक गोल गरे । 

जितसँगै बाँसगढीले समूह ‘सी’ मा दुई खेलबाट ६ अंक जोडेको छ ।

बाँसगढीकी रेनुका हमाल खेलको प्लेअर अफ दी म्याच भइन् । उनले पाँच हजार रुपैंयासहित ट्रफी पाइन् ।

समूह ‘डी’ अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका र नवलपुरको देवचुली नगरपालिकाबीचको खेल केही बेरमा सुरु हुनेछ ।  
 

 अन्तिम खेल दिउँसो ३ बजे समूह ‘इ’ अन्तर्गत काठमाडौं महानगरपालिका र इलामको रोङ गाउँपालिकाबीच हुनेछ ।