नेपाली समर्थकप्रति अभारी छु, नेपाल फर्कने वा नफर्कने बारे दुई सातापछि मात्र अन्तिम निर्णयःअल्मुताइरी

काठमाडौं, (खेलाडी)-  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल बसाईका बारेमा दुई साताको आरामपछि मात्र अन्तिम निर्णय लिने बताएका छन् ।

शनिबार मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग ३-० को हार व्यहोर्दै उपविजेतामा सीमित भएपछि प्रतिक्रिया दिँदै अल्मुताइरीले आफुलाई अहिले आरामको आवश्यकता रहेकाले भविष्यका बारेमा तत्काल केही नसोचेको बताए ।

'म विगत ६ महिना देखी तनावमा थिए । म एक दुई साता आराम गर्छु । म मेरो परिवारसँग केही समय बिताउन चाहन्छु' ,अल्मुताइरीले भने, 'त्यसपछि मात्र नेपाल फर्कने वा नफर्कने बारे अन्तिम निर्णय लिन्छु ।'

अल्मुताइरीले आफुलाई नेपाली समर्थकले दिएको साथ र मायाप्रति  विशेष आभारी रहेको बताए ।

'मलाई नेपाली समर्थकले दिएको मायाका लागि धन्यबाद । साच्चै मलाई तपाईहरुले दिएको माया र साथका कारण नेपाली राष्ट्रिय फुटबल टोलीसँग अलग हुन कठिन हुनेछ 'अल्मुताइरीले भने,' नेपालको नाम मेरो मुटुमा छ र मेरो अन्तिम सास सम्म रहिरहने छ । मलाई पहिलो दिनबाट कसैको साथ र समर्थन नहुँदा पनि नेपाली समर्थकले माया गरे । त्यसैले उनीहरुलाई छोड्न कठिन हुनेछ । म भएपनि नभएपनि नेपाली फुटबल टोलीको निरन्तर समर्थन गरिदिनुस् ।'

अल्मुताइरीले फाइनल अनुभव नभएका कारण नेपालले भारतलाई नतिजा सुम्पिएको बताए । 

'एक मिनेटको अन्तरमा दुई गोल खाएपछि खेलम फर्कन कठिन हुन्छ', अल्मुताइरीले भने, 'नेपालको हकमा पनि त्यही भयो ।'

अल्मुताइरीले साफको नतिजा आफुहरुको पक्षमा नआएपनि सारा नेपालीले गर्व गर्न लायक टोली निर्माण भएकाले नेपाली टोलीलाई निरन्तर समर्थन गरिरहन समेत समर्थकलाई आग्रह गरे ।

'नतिजा जे जस्तो भएपनि नेपाली समर्थकको नेपाली राष्ट्रिय फुटबल टाेली प्रतिको माया निरन्तर रहिरहने छ भन्ने विश्वास छ',अल्मुताइरीले भने,' समर्थकहरुले प्रशिक्षक, फुटबल संघ वा सरकारले जे गरेपनि नेपाली फुटबल टिमलाई माया गरिरहनुस । म मेरा खेलाडी र प्रशिक्षण टोलीलाई धन्यवाद दिन चाहन्छु ।'