साफ च्याम्पियनसिप : गर या मरको अवस्थामा नेपाल

काठमाडौं, (खेलाडी) साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । त्यसैले आजको साँझ माल्दिभ्सको मालेमा नेपाली राष्ट्रिय फुटबल टोलीका लागि विशेष हुनेछ । आजको एउटा खेलमा सुखद नतिजा निकाल्न सके क्षेत्रीय फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा नेपाल पहिलो पटक फाइनल पुग्नेछ । 

नेपालले आज निर्णायक खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशसँग बराबरी नतिजा मात्र निकाल्न सके पनि नेपाल दक्षिण एसियाली फुटबलको महाकुम्भमा नयाँ इतिहास लेख्न सफल हुनेछ । बंगलादेशलाई भने अगाडि बढ्नका लागि जितवाहेकको विकल्प हुने छैन । 

साफ च्याम्पियनसिप समूह चरणको अन्तिम दिन आज बुधबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा दुई खेल हुनेछन् । दुई खेलका लागि मैदान उत्रिने चारवटै टोलीको फाइनल पुग्ने सम्भावना छ । त्यसैले आज नेपालमात्र नभई सबै चार टोली त्यो सम्भावनालाई यथार्थमा परिणत गर्ने उद्देश्यसहित मैदान उत्रिनेछन् ।

पाँच टोलीमात्र सहभागि भएका कारण यसपाली प्रतियोगिता राउन्ड रोबिन पद्दतिमा भइरहेको छ । पहिलो चरणको राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थन हासिल गर्ने टोलीले उपाधिका लागि शनिबार फाइनल खेल्नेछन् । 

समूह चरणमा सबै चार खेल खेलिसकेको श्रीलंका एक अंकमा सीमित भएर प्रतियोगिताबाट बाहिरिइसकेको छ । बाँकी चार टोलीमध्ये तीन खेलमा दुई जित हासिल गरेका साविक विजेता माल्दिभ्स र नेपाल समान ६ अंकका साथ पहिलो तथा दोस्रो स्थानमा छन् । गोल अन्तरमा माथि रहेको आयोजक माल्दिभ्स शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ । 

एक जित र दुई बराबरी नतिजासहित अपराजित रहन सफल भारत पाँच अंकका साथ तेस्रो स्थानमा छ भने एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको बंगलादेश चार अंकसहित चौथो स्थानमा छ । 

नेपाली समयअनुसार आज साँझ पौने पाँच बजे नेपालले चौथो स्थानको बंगलादेशसँग खेल्नेछ भने राति पौने दश बजे दक्षिण एसियाली फुटबलका दुई महारथी भारत र माल्दिभ्सबीच खेल हुनेछ । 

दुवै खेलबाट एक/एक टोलीले फाइनलको यात्रा तय गर्नेछन् । यसअर्थमा समूह चरणको अन्तिम खेल प्रतिस्पर्धीका लागि सेमिफाइनल सरह बनेको छ । जहाँ एउटा खेलको नतिजाले अर्को खेललाई कुनै प्रभाव पनि पार्ने छैन । आ-आफ्नो खेल भने सबैका लागि 'गर या मर'को अवस्थामा पुगेको छ ।

नेपाल र माल्दिभ्सलाई आ-आफ्नो खेलमा बराबरी नतिजा निकाले पनि फाइनल पुग्न पर्याप्त हुनेछ भने बंगलादेश र भारतसँग जितको विकल्प हुने छैन । 

बंगलादेशसँग बराबरी खेले नेपाललाई फाइनल पुग्न पर्याप्त हुनेछ भने बंगलादेशले जित्नुपर्नेछ । यसैगरी माल्दिभ्सले पनि बराबरी गरे फाइनल पुग्नेछ । जवकि भारतले फाइनल पुग्नका लागि माल्दिभ्सलाई हराउनै पर्नेछ ।