अर्जेन्टिनालाई विश्वकप जिताउने धोको छः मेसी

ब्युनस आयर्स, खेलाडी)- विश्वकप छनोटअन्तर्गत सोमबार उरुग्वेमाथि ३–० को जित हासिल गर्दा कीर्तिमानी गोल गरेका अर्जेन्टिनी कप्तान लियोनेल मेसीले आफू कीर्तिमानभन्दा पनि टिमको जितको विषयमा बढि चिन्तित हुने गरेको बताएका छन् । 

उरुग्वेविरुद्धको खेलमा ३८औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानी फरवार्ड मेसीले दक्षिण अमेरिकी स्तरमा पनि कीर्तिमान रचेका थिए । योसँगै अन्तर्राष्ट्रिय गोलसंख्या ८० पुर्याएर मेसीले दक्षिण अमेरिकाकै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । 

अर्जेन्टिनी राष्ट्रिय टोलीलाई यसै वर्ष पहिलो पटक कोपा अमेरिकाको उपाधि जिताएका मेसीले दक्षिण अमेरिकी टोलीबाट विश्वकप जित्ने चाहना अझै अधुरो रहेको र त्यसलाई पूरा गर्नेमा आफू पूर्ण रुपमा केन्द्रित रहेको बताए । 

‘मलाई व्यक्तिगत कीर्तिमानको कुनै लोभ छैन । अर्जेन्टिनाको टोलीबाट विश्वकप जित्ने धोको पूरा भएको छैन । यसपाली कतारमा त्यो धोको पूरा गर्ने कुरामा ममात्र नभई पूरा टिम केन्द्रित छ,’ मेसीलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले छापेका छन्, ‘पक्कै पनि गोल गर्दा खुसी लाग्छ । अझ त्यो गोलले एउटा कोसेढुंगा छुन्छ भने खुसी अझै बढ्छ । तर मुख्य कुरा त्यो होइन । मुख्य कुरा अर्जेन्टिनाको टोलीबाट विश्वकप जित्नु नै हो ।’