हामी दबाबमा छैनौः सहायक प्रशिक्षक श्रेष्ठ

काठमाडौं (खेलाडी)-  नेपाली राष्ट्रिय फुटबल टोलीका  सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितका साथ साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

नेपालले बुधबार राउन्ड रोबिनको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । बंगलादेशविरुद्ध बराबरीले मात्र पनि नेपाल शीर्ष दुईमा बस्दै फाइनल प्रवेश गर्नेछ । 

‘सर्वप्रथम नेपालीहरुको महान पर्व बडा दशैंको सम्पुर्णमा शुभकामना,’ किरणले भने, ‘बंगलादेशविरुद्धको खेलका लागी हामीले सम्पुर्ण तयारी गरिसकेका छौं । आशा छ टोलीले राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउने छ ।’

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग निराश भएको थियो ।

नेपाल तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । समान तीन खेलमा समान ६ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । भारत पाँच अंकसहित तेस्रो स्थानमा छ भने  बंगलादेश चार अंक बटुल्दै चौथौ स्थानमा छ । अंकविहिन श्रीलंका अन्तिम स्थानमा छ । 
‘हामीले टोली रणनिती अनुसार नै भारतविरुद्ध धेरै रक्षात्मक खेल्यौ । बंगलादेशको खेल हाम्रा लागी महत्वपुर्ण छ र हामी स्पष्ट तीन अंकका लागि खेल्छौ,’ श्रेष्ठले भने, ‘प्रतियोगितामा शीर्ष चार प्रवेश गर्नका लागि सबै टोलीको सम्भावना बाँकी छ । अन्य टोली (माल्दिभ्स, भारत र बंगलादेश) जित्नै पर्ने दबाबमा भएपनि हामीलाई एक अंक मात्र पनि फाइनल प्रवेशका लागि पर्याप्त बन्नेछ ।'

नेपालसँगको हार वा बराबरीले बंगलदेशको फाइनल प्रवेश गर्ने लक्ष्यमा पूर्णविराम लाग्नेछ ।

बंगलादेशका प्रशिक्षक ओस्कार ब्रुजनले भने नेपालमाथी सुखद नतिजाका साथ फाइनल प्रवेश गर्ने आशा व्यक्त गरे ।

'हामीले सुरुआती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि तेस्रो खेलमा माल्दिभ्सविरुद्ध लय गुमायौं,' ओस्कार ले भने, 'हामीले पर्याप्त आराम पायौ । खेलाडीहरु्र पूर्ण रुपमा फिट छन् । त्यसैले हामी नेपालमाथि जित हात पर्दै साफ च्याम्पियनसिप उपाधिको लक्ष्यमा अघि बढ्न चाहन्छौ । हामी इतिहास रच्न तयार छौ ।'