जर्मनी विश्वकप २०२२ मा छनोट हुने पहिलो टोली 

बर्लिन, (खेलाडी)-  जर्मनी कतार विश्वकप २०२२ लागि छनोट हुने पहिलो टोली बनेको छ ।

विश्वकप छनोटअन्तर्गत सोमबार समूह 'जे 'को खेलमा जर्मनीले नर्थ मासेडोनियमाथि ४-० को जितका साथ कतार विश्वकपको टिकट काटेको हो । आयोजक कतार स्वत प्रतियोगितामा छनोट भइसकेको छ ।

५०औं मिनेटमा काइ हाभाटेर्जले गरेको गोलमा जर्मनीले अग्रता लियो । ७०औं मिनेटमा टिमो वार्नेरले जर्मनीको अग्रता दोब्बर पारे ।

त्यसको दुई मिनेटपछि वार्नेरले व्यक्तिगत दोस्रो गोलमा जर्मनीलाई फराकिलो जिततर्फ अघि बढाएका थिए । खेल सकिन सात मिनेट बाँकी हुँदा जमाल मुसियालाले जर्मनीका लागि चौथो गोल गरेका थिए ।

समूह 'जे' मा आठ खेलमा २१ अंक जाडेको जर्मनी शीर्ष स्थानमा बस्दै कतार विश्वकपका लागि छनोट भयो ।

१३ अंक बटुल्दै रोमानिया दोस्रो स्थानमा छ भने समान १२ अंक जोडेका नर्थ मासेडोनिया र अर्मेनिया क्रमशः तेस्रो र चौथो  स्थानमा छन् । ८ अंक बटुलेको आइसल्यान्ड पाँचौ स्थानमा छ ।

समूह 'जे 'अन्तर्गत सोमबार भएको अर्को खेलमा रोमानियाले अर्मेनियालाई १-० ले हरायो ।