भान गाल कोम्यान र डि योङको बचाउमा

आम्स्टर्डम, (खेलाडी)– नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान र मिडफिल्डर फ्रयांकी डि योङको बचाउ गरेका छन् । 

यस सिजनको खराव सुरुवात गरेको बार्सिलोनामा प्रशिक्षक कोम्यानलाई बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला भान गालले खराव लयका लागि विदेशी खेलाडी र प्रशिक्षकमाथी आरोप लगाउनु गलत भएको बताए ।

‘यदी सबै राम्रो चलिरहेको भए फ्र्यांकीको प्रदर्शनमा कुनै प्रश्न उठ्दैनथ्यो,’ भान गालले भने, ‘तर जब क्लबको लय बिग्रदै जान्छ, बार्सिलोनाका समर्थक सधै प्रशिक्षक विदेशी खेलाडीलाई मात्र आरोप लगाउने गर्छन । अहिलेको अवस्थामा पनि कोम्यान एक डच प्रशिक्षक हुन ।’

भान गालले बार्सिलोनाको यस्तो व्यवहार आफुले अनुभव गरिसकेको समेत बताए । 

‘मैले पनि यस्तो व्यवहारको अनुभव गरेको छु र इतिहास फेरी दोहोरीएको छ । तर मलाई लाग्छ डी योङले राम्रो प्रदर्शन गरिरहेका छन्,’ उनले भने, ‘कोम्यान, डी योङ र मेम्फिस डिपेले पनि राम्रो गरिरहेका छन् । मलाई यो ठुलो कुरा हो जस्तो लाग्दैन ।’

भान गालले १९९७ देखी २००० सम्म पहिलो पटक र २००२ देखी २००३ सम्म दोस्रो पटक बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।