रियाल मड्रिडविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन लियोनार्दोको माग

पेरिस, (खेलाडी)-  फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का निर्देशक लियोनार्दोले स्पेनिस ला लिगा क्लब रियाल मड्रिड विरुद्ध कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् ।

लियोनार्दोले पिएसजीका स्ट्राइकर केलियन एम्बाप्पेको सरुवामा रियाल मड्रिडले देखाएको व्यवहारका कारण कारबाही गरिनु पर्ने बताए ।

यस सिजनको अन्त्यसँगै पिएसजी र एम्बाप्पेबिचको सम्झौता सकिदैछ । गत सिजनबाटै रियाल मड्रिड फ्रेन्च स्टारलाई क्लब भित्राउने दौडमा लागिरहेको छ ।

लियोनार्दोका अनुसार पिएसजीले स्पेनिस क्लबबाट आएको प्रस्ताव पटक पटक अस्विकार गरे पनि रियाल मड्रिड एम्बाप्पेलाई आगामी सिजन भित्राउने योजनामा रहेको आरोप लगाए ।

‘रियाल मड्रिडले एम्बाप्पेलाई अनुबन्धन गर्ने प्रक्रियाबाट अलग रहेको बताएपनि उनीहरु भित्री रुपमा अझै पनि उनकै पछि लागि परेका छन्,' लियोनार्दोले भने, 'पछिल्लो दुई वर्षदेखी उनीहरु एम्बाप्पेको बारेमा बहस गरिरहेका छन् । यसका लागी उनीहरुलाई कारवाही गरिनु पर्छ । रियाल मड्रिडको बोर्ड, प्रशिक्षक र खेलाडीहरुले समेत एम्बाप्पेका बारेमा कुरा गरिरहेका छन् । मलाई लाग्छ यो उनीहरुको योजना हो । यो हाम्रो अपमान हो ।’

यता एम्बाप्पेले पनि यसै महिनाको सुरुवातमा सिजन सुरु हुनु अघि आफुले क्लब छाड्न चाहेको र रियाल मड्रिड एकमात्र गन्तव्य रहेकाे बताएका थिए ।