ब्राजिलको जित यात्रा निरन्तर, अर्जेन्टिनाले अंक बाँड्यो 

रियो दी जेनेरियो, (खेलाडी)-  ब्राजिलले विश्वकप छनोटमा आफ्नो जित यात्रालाई निरन्तरता दिएको दिन अर्जेन्टिनाले भने अंक बाँडेको छ ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत बिहीबार सम्पन्न खेलमा ब्राजिलले भेनेन्जुएलालाई ३–१ ले हरायो ।

११औं मिनेटमा इरिक रामिरेजले गरेको गोलमा भेनेन्जुएलाले अग्रता लिएको थियो । ७१औं मिनेटमा मार्किन्होसले ब्राजिललाई खेलमा फर्काएका थिए । ८५औं मिनेटमा ग्याब्रियल बार्बोसाको गोलमा ब्राजिलले अग्रता लियो ।  इन्जुरी समयमा एन्टोनीले ब्राजिलका लागि तेस्रो गोल गरे ।

नौं खेलमा शतप्रतिशत जितका साथ २७ अंक जोडेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । सामान खेलमा १९ अंक बटुलेको अर्जेन्टिना दोस्रो स्थानमा छ ।

बिहीबार राति भएको अर्को खेलमा अर्जेन्टिना पराग्वेसँग गोलरहित बराबरीमा रोकियो ।