भारतको अर्को निराशाजनक नतिजा, श्रीलंकासँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं, (खेलाडी)- माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा आज (बिहीबार) भारत श्रीलंकासँग खेल गोलरहित बराबरीमा रोकिएको छ । 

श्रीलंकासँग बराबरीमा रोकिएसँगै प्रतियोगिताको सबैभन्दा सफल टोली भारतको फाइनलसम्म पुग्ने सम्भावना थप कमजोर भएको छ । 

यसअघि भएको पहिलो खेलमा भारत बंगलादेशसँग पनि १-१ को बराबरीमा रोकिएको थियो । यता श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० र दोस्रो खेलमा नेपालसँग ३-२ ले पराजित भएको थियो ।

प्रतियोगिताको मुख्य दाबेदार मानिएको भारतले लगातार दोस्रो खेलमा अंक गुमाएपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । 

साविक विजेता माल्दिभ्सलाई उसकै मैदानमा पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि जित हासिल गरेको थियो । 

साफ च्याम्पियनसिपको १३औं संस्करणमा अहिलेसम्म सतप्रतिसत नतिजा निकाल्न सफल नेपाल दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । दुई खेलबाट चार अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ भने दुई अंकका साथ भारत तेस्रो स्थानमा छ । चौथो स्थानमा दुई खेलबाट एक अंक जोडेको श्रीलंका छ । एक खेलमा एकै अंक जोड्न नसकेको माल्दिभ्स पुछारमा छ । माल्दिभ्सले आजै केहीबेरमा बंगलादेशसँग प्रतियोगिताको दोस्रो खेल खेल्नेछ । 

नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन ।