रोनाल्डोको गोलमा युनाइटेडको जित

लन्डन,(खेलाडी)- स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले भिल्लारियालमाथि पुनरागमन जित हात पारेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह 'एफ' को खेलमा युनाइटेडले भिल्लारियालाई २-१ ले हराएको हो ।

५३औं मिनेटमा पाको एल्कासरको गोलमा भिल्लारियालले अग्रता लियो । त्यसको साता मिनेटपछि एलेक्स टेल्सले युनाइटेडलाई खेलमा फर्काएका थिए ।

इन्जुरी समयको पाँचौ मिनेटमा रोनाल्डोले गरेको गोलमा युनाइटेडले जारी सिजन च्याम्पियन्स लिगमा पहिलो पटक स्पष्ट तीन अंक पक्का गरेको हो ।
च्याम्पियन्स लिगको पहिलो खेलमा युनाइटेड योङ ब्बाइजसँग निराश भएको थियो ।

समूह 'एफ' को अर्को खेलमा एट्लान्टाले योङ ब्बाइजलाई १-० ले हरायो ।

दुई खेलबाट एट्लान्टाको चार अंक छ भने दोस्रो स्थानको योङ ब्वाइज र तेस्रो स्थानको युनाइटेडको समान तीन अंक छ । भिल्लारियाल एक अंकका साथ चौथो स्थानमा छ ।