इङ्लिस प्रिमियर लिग

कोन्टे बर्खास्त

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । 

टोटनहमले कोन्टेको स्थानमा क्रिस्टियन स्टेलानीले टोलीको प्रशिक्षण सम्हाल्ने जनाएको छ । रेयान मासोनले उनको सहायक प्रशिक्षकको जिम्मेवारी लिनेछन ।

‘हामीसँग प्रिमियर लिगमा १० खेल खेल्न बाँकी छ र हामीले च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि खेल्नुपर्नेछ । हामीले टोली एकताको सन्देशसहित सो लक्ष्य पूरा गर्नुपर्नेछ;,क्लबका अध्यक्ष लेभीले भने, शीर्ष चारको लक्ष्यमा पुग्न असफल भयौ भने त्यो हाम्रा समर्थकका लागि धोका हुनेछ । ’

‘हामीले कोन्टेले पहिलो सिजन प्रशिक्षण सम्हाल्दा पनि च्याम्पियन्स लिगमा स्थान बनाएका थियौ’, लेभीले भने,'हामी कोन्टेलाई उनको योगदानका लागि धन्यवादन दिन चाहन्छौ । 
टोटनहम गत महिना एक साताको अन्तरमा च्याम्पियन्स लिगका साथै एफए कपबाट समेत बाहिरिएको थियो ।'

गत साता लिगमा पनि टोटनहमले साउथहमटनविरुद्ध अंक गुमाएको थियो । जसले टोलीको शीर्ष चारको लक्ष्यलाई केही कमजोर पारिदिएको छ । साउथहमटनविरुद्ध ३-१ को अग्रता लिए पनि अन्तिम मिनेटमा दुई गोल खाएसँगै टोटनहम २२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको थियो । 

सो नतिजासँगै कोन्टेको टोटनहमको बसाई संकटमा परेको थियो । टोटनहम २८ खेलमा ४९ अंकसहित चौथो स्थानमा छ । जुन पाँचौ स्थानको न्युक्यासलभन्दा मात्र दुई अंक बढी हो ।

कोन्टेले क्लब व्यवस्थापनले आफ्नो योजना बेवास्ता गरेको र केही खेलाडीले पनि आफ्नो निर्देशन अटेर गरेको कारण क्लब छोडेको दाबी गरेका छन । उनले क्लब व्यवस्थापनका कारण नयाँ प्रशिक्षकलाई पनि काम गर्न सहज नहुने बताएका छन । 

‘टोलीमा रहेका केही खेलाडी स्वार्थी देखिए, जो टोलीको सफलता भन्दा पनि व्यत्तिगत सफलताको पछि लागेका छन’, कोन्टेले, ‘जसले जो प्रशिक्षक आए पनि टोलीको योजना सफल हुन दिदैन ।’