साफ यु-१७ महिला च्याम्पियनसिप

नेपाललाई रुसको चुनौती

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार आमन्त्रित टोली रुसको सामना गर्दैछ ।

खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा राति सात बजे सुरु हुनेछ ।

नेपाल र रुस पहिलो पटक एक अर्काको सामना गर्दैछन् । दुई खेलमा तीन अंक जोडेर चौंथो स्थानमा रहेको नेपाल रुसलाई स्तब्ध बनाउँदै लगातार दोस्रो जितको खोजीमा छ ।

दीपा रोकायो कप्तानीमा मैदान उत्रिने नेपाल  वर्षा ओली र सेनु परियारमा बढी निर्भर रहने छ । प्रतियोगितमा तीन खेल खेल्दा वर्षाले तीन तथा सेनुले दुई गरेका छन् । 

पहिलो खेलमा भारतसँग ४-१ ले पराजित नेपालले दोस्रो खेलमा नेपालले भुटानलाई ५-० ले हराएको थियो ।

रुस पनि लगातार तेस्रो जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुसले पहिलो खेलमा घरेलु टोली बंगलादेशलाई ३-० तथा दोस्रो खेलमा भुटानलाई ९-१ ले पराजित गरेको थियो ।

रुसका कप्तान एलिना गोलिक र अनास्तासिया चेरनोसोवा नेपालका लागि घातक बन्न सक्छन् । उनीहरुले दुई खेलमा समान तीन गोल गरेका छन् ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।राउण्ड रोबिनको पद्धतीमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

यस संस्करणको साफ यु-१७ च्याम्पियनसिप युरोपियन फुटबल महासंघ( युइएफए)सँगको सहकार्यमा भइरहेकाले रुसले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको हो ।