नेपाली फुटबल

पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले बुधबार (आज) भुटानको सामना गर्दैछ ।

खेल बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा स्थानिय समयअनुसार राति सवा सात बजे सुरु हुनेछ ।

साविक विजेता नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भयो । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८–१ को फराकिलो पराजय ब्यहोरेको भुटान पनि पहिलो जितको लक्ष्यमा हुनेछ ।

नेपाल र भुटानले हालसम्म पाँच खेलमा एक अर्काको सामना गरेका छन् । जसमा नेपालले दुई र भुटानले एक जित निकाल्दा दुई खेल बराबरीमा सकिएको छ ।

सन् २०१७ मा साफ यु–१५ को नामबाट सुरु भएको प्रतियोगिता पहिलो पटक साफ यु–१७ को नामले हुन लागेको हो । यसअघिका चार संस्करण साफ यु–१५ का नामले संञ्चालन गरिएको थियो ।

हाल सम्म यो प्रतियोगितामा भारत दुई तथा नेपाल र बंगलादेश समान एक पटक च्याम्पियन बनेका छन् ।

सन् २०१७ मा बंगलादेशमा साफ यु–१५ च्याम्पियनसिपको नामबाट सुरु भएको पहिलो संस्करणमा नेपाल  र भुटान १–१ गोलको बराबरीमा रोकिएका थिए । यो संस्करणमा भुटान तेस्रो तथा नेपाल अन्तिम स्थानमा रहे । प्रतियोगितामा चार टोलीको सहभागिता थियो ।

सन् २०१८ मा भुटानमै भएको दोस्रो संस्करणमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पेनाल्टी सुटआउमा ४–३ ले पराजित भयो । निर्धारित समयमा दुवै टोलीबाट समान दुई गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो । यस संस्करणमा ६ टोलीको सहभागिता थियो ।

सन् २०१९ मा भुटानमै भएको तेस्रो संस्करणमा पनि नेपाल १–१ को बराबरीमा रोकिएको थियो । चार टोलीको सहभागिता रहेको यस संस्करणमा नेपाल तेस्रो तथा भुटान अन्तिम स्थानमा रहे ।

सन् २०२२ मा बंगलादेशमा भएको चौथो (पछिल्लो) संस्करणका दुवै भेटमा नेपाल विजयी भएको थियो । यस संस्करणमा तीन टोलीको मात्र  सहभागिता रहेकाले प्रतियोगिता डबल राउन्ड रोबिन पद्वतीमा संञ्चालन गरिएको थियो ।

पहिलो खेलमा ७–० को सहज जित निकालेको नेपाल दोस्रो खेलमा १–० ले विजयी भएको थियो । यो संस्करणमा नेपाल च्याम्पियन बन्दा भुटान अन्तिम स्थानमा रह्यो ।