थ्री नेसन्स कप

हाम्रो लक्ष्य उपाधि जित्नु होः प्रशिक्षक दोर्जी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको अघिल्लो दिन आज (मंगलबार) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा भुटानका मुख्य प्रशिक्षक पेमा दोर्जीले प्रतियोगिताका लागि राम्रो तयारी गरेको र टोलीको लक्ष्य उपाधि जित्ने हुने बताएका छन् ।  

‘हाम्रो तयारी निकै राम्रो भएको छ । दुई महिनाको तयारी छ । साफ पछि कुनै खेल खेलेका छैनौं । तर खेलाडीहरू खेलाडीहरु फिट छन्’ दोर्जीले भने,‘उनीहरुले शतप्रतिशत दिनेछन् भन्ने विश्वास छ । अन्य टोलीको जस्तै हाम्रो पनि उपाधि जित्ने लक्ष्य छ ।’

यसैगरी भुटानका कप्तान चेन्चो ग्याल्सेनले प्रतियोगिताका लागि आफु उत्साहित रहेको बताए ।

‘नेपालमा खेलको राम्रो अनुभव छ । साफमा यहाँ समर्थकले राम्रो  साथ दिनु भएको थियो । त्यसका लागि धन्यवाद । नेपाली समर्थका माझ खेल्न निकै उत्साहित छु । किरण र म एकै टोलीबाट खेल्ने गर्छौ । त्यसैले हामीलाई एक अर्काको बारेमा राम्रोसँग थाहा छ । खेल प्रतिस्पर्धात्मक र रमाइलो हुने आश छ ।’

नेपाल, लाओस र भुटान सम्मिलित थ्री नेसन्स कप बुधबारबाट त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुँदैछ ।

प्रतियोगितामा शनिबार लाओस तथा मंगलारबार नेपालको सामना समान गर्नेछ ।

प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर, दोस्रोले तीन हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।

प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप)  ले उपलब्ध गराउने छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसबाट हुनेछ । प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ ।