नेपाली फुटबल

पाकिस्तान र माल्दिभ्सबीचको खेल नेपाली रेफ्रीले खेलाउने

काठमाडौं । पाकिस्तान र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेलका लागि नेपाली फिफा रेफ्रीले निर्णायक भूमिका पाएका छन् । फिफाको निमन्त्रणासँगै नेपाली रेफ्री माल्दिभ्सको माले पुगिसकेका छन् ।

रेफ्री प्रकाशनाथ श्रेष्ठ र नविन्द्र महर्जन तथा सहायक फिफा रेफ्री सहदेव श्रेष्ठ र विक्रम चौधरीले त्यसतर्फ पुगेका हुन् । पाकिस्तान र माल्दिभ्सबीचको खेल मालेस्थित जान जोन मैदानमा आज हुँदैछ । प्रकाशले निर्णायक भूमिकामा रहँदा नविन्द्र फोर्थ अफिसियल रहनेछन् ।

चार सदस्यीय टोली सोमबार श्रीलंकाहुँदै माले प्रस्थान गरेको थियो । पछिल्लो समय फिफाले मैत्रीपूर्ण खेलमा तेस्रो देशले निर्णायक भूमिका लिनुपर्ने नियम लगाएको छ । यो नियमअनुसार पहिलो पटक नेपाली रेफ्रीले विदेशमा निर्णायक भूमिका लिँदैछन् ।

यसैगरी नेपालमा आयोजना हुने थ्री नेसन्स कपमा लागि माल्दिभ्सका चार रेफ्री नेपाल आईपुगेका छन् । थ्री नेसन्स कप बुधबारबाट दशरथ रंगशालामा आयोजना हुँदैछ । नेपालले उद्घाटन खेलमा लाओसको सामना गर्नेछ ।