विराट गोल्डकप

विराट गोल्डकपको तयारी पूरा, पुरस्कार राशीमा वृद्धी

काठमाठौं । आयोजक विराट गोल्डकप ट्रस्टले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामध्य एक विराट गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

विराटनगरको सहिद रंगशालामा रात्रीकालिन समयमा आयोजना हुने प्रतियोगिता चैत नौ गतेदेखि १७ गतेसम्म हुनेछ ।

यसपल्टको विजेताले २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत संस्करणको विजेता एपिएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले सात लाख ५१ हजार प्राप्त गरेका थिए ।

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गर्ने र हरेक दिनको प्लेयर अफ दि म्याचलाई ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्ड कपको नाममा हुँदै आएको छ । प्रतियोगिताको  छैटौं संस्करण हो ।

सहीद रंगशालाको मैदान मर्मत, प्यारापिट लगायतका कामहरु पूरा भइसकेको आयोजकले जनाएको छ । आठ दिनसम्म सञ्चालन हुने गोल्डकपमा नेपालका पाँच ‘ए’ डिभिजन क्लबसहित एक घरेलु क्लब  तथा  भारत र भुटानको समान एक टोलीले नकआउटका पद्धतीमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालबाट तीन विभागीय टोली नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लब रहने छन् । विदेशी टोलीका रूपमा भारतको केरलामा रहेको लुका सकर क्लब र भुटानको ड्रक लयुल फुटबल क्लबले सहभागिता जनाउने छ ।  

दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उसको स्थानमा भुटानको ड्रक लायुल फुटबल क्लब समावेश गरिएको आयोजकले जनाएको छ ।

टिकेटिङ पार्टनरको रुपमा ‘खल्ती एप’सँग सम्झौता गरिसकेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि टिकट दर क्वाटरफाइनल सम्म दुई सय तथा सेमिफाइनल फाइनल खेलका लागि क्रमशः चार सय र पाँच सय रुपैया निर्धारण गरिएको छ ।

गोल्डकप आयोजना गर्न कम्तीमा दुई करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ।