नेपाली फुटबल

विगतका गल्ती दोहरिँदैनः वरिष्ठ उपाध्यक्ष खड्का

फाइल तस्बिर

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रशिक्षक र सँघबीच भएका विगतका कमजोरीहरु अबका दिनमा नदोहोरिने बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ प्रतियोगिताको बारेमा जानकारी दिन  आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष खड्काले पूर्व प्रशिक्षकहरुलाई जोगाउन नसक्नु एन्फाको कमजोरी रहेको र अबका दिनमा यस्तो नहुने बताएका हुन् ।

‘प्र्रशिक्षक एउटा एन्फाको कर्मचारी भित्र पर्छ । यो भन्दा अगाडी के भएको थियो, त्यहाँ म जान चाहन्न । प्रशिक्षकहरुले पनि एन्फाको कर्मचारी भएको नाताले संघको नियम मान्नु पर्छ । तर, पहिलेको जस्तो घटना अब दोहोरिन्न । दोहोरिन दिँदैनौं । दोहोरियो भने त्यहीँ को त्यहीँ, सत्य के हो, असत्य के हो, तुरुन्तै छानविन गर्छौँ, ’ खड्काले भने ।

संघ भित्रकै आन्तरिक द्धन्द्ध र मुख्य खेलाडीलाई होस्टेलबाट निकालेको विषयमा विवाद चक्रिँदा पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएका थिए । अल्मुताइरीले राजीनामा दिएपछि एन्फाले तीन साताअघि मात्र इटालियन भिन्सेन्जो एनासीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

एनासीकै नेतृत्वमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता (प्रधानमन्त्री थ्री नेसन्स कप) खेल्दैछ । यही फागुन ८ गते  देखि १७ गतेसम्म हुने प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसले सहभागिता जनाउनेछन् । सहभागी टोली सोमबार नै काठमाडौं आइपुगेका छन् ।

प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाँकी छँदा पनि एन्फाले अहिलेसम्म प्रारम्भिक टोलीको औपचारिक घोषणा गरेको छैन । त्यस्तै प्रशिक्षक एनासीको श्रम स्वीकृतिको कागजी प्रक्रिया अझै पूरा भएको छैन ।

यो विषयमा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एन्फाले केही गर्न नसक्ने बताए ।

‘खै! प्रशिक्षकले प्रारम्भिक टोलीको नाम सार्वजनिक गर्नुपर्थ्यो । हामीले उहाँलाई आग्रह पनि गरेका हौं । तर, उहाँले खेल समन्वय बैठकमा मात्र सिधै अन्तिम टोली सार्वजनिक गर्ने भन्नुभएको छ । त्यसैले भोली मात्र सार्वजनिक गर्छौं, ’ अन्तर्राष्ट्रिय कोडको विरुद्धमा एनासीको यो निर्णयलाई बचाउ गर्दै मिश्रले भने, ‘यो भन्दा अगाडी पनि थ्री नेसन्स कपमा बालगोपाल महर्जन प्रशिक्षक हुँदा, एउटा खेल सकिसकेपछि मात्र अन्तिम टोलीको नाम सार्वजनिक गरिएको थियो । कुरा आयो श्रम स्वीकृति, मलाई लाग्छ प्रतियोगिताबीच उहाँले स्वीकृति पाउनुहुनेछ । हामी काम गरिरहेका छौँ ।’

एन्फाले सम्मेलनमार्फत प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख ६८ हजार चार सय ८० रुपैयाँ जनाइको छ । जुन पछिल्लो थ्री नेसन्स प्रतियोगिताभन्दा ७७ प्रतिशतले बढी हो ।

यस विषयमा वरिष्ठ उपाध्यक्ष खड्काले भने ,‘पहिले एउटा बलको रकम पाँच हजार थियो । अहिले सात हजार छ । अहिले सबै कुरा महँगो छ । बजेट बढ्नु स्वभाविक हो ।’

आयोजक एन्फाले प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर हुने जानकारी दिएको छ । उपविजेताले तीन हजार अमेरिकी डलर प्राप्त गर्दा प्रत्येक खेलका प्लेयर अफ दि म्याचले दुई सय ५० अमेरिकी डलर पाउने छन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर प्राप्त गर्नेछ । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने एन्फाले जनाएको छ ।

सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ ।

यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।