थ्री नेसन्स कप

थ्री नेसन्स कपको विजेताले पाँच हजार अमेरिकी डलर पाउने

काठमाडौं । आगामी चैत आठ देखि १७ गतेसम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्ने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार रकमको बारेमा जानकारी गराएको हो ।  प्रतियोगिताको उपविजेताले तीन हजार अमेरिकी डलर प्राप्त गर्दा प्रत्यक खेलका प्लेयर अफ द म्यानले दुई सय ५० अमेरिकी डलर पाउने छन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर  प्राप्त  गर्नेछ । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले उपलब्ध गराउने एन्फाले जनाएको छ । 

प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

थ्री नेसन्स कपका लागि भुटान र लाओसको टोली सोमबार नेपाल आइपुगेका थिए । एन्फाले  एमडिएसी स्पोर्टससँग प्रतियोगिताको टिकेटिङ र ब्रोर्डकास्टिङ सम्झौता गरिसकेको छ ।

 प्रतियोगिताको अनुमानित बजेट एक करोड  ७७ लाख ६८ लाख चार सय ८० रहेको एन्फाले बताएको छ । 

सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।

प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ ।

यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।