थ्री नेसन्स कप

लाओसको टोली नेपाल आइपुग्यो

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने लाओसको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ ।

 लाओसको टोली सोमबार दिउँसो नेपाल आइपुगेको हो। टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए ।

प्रतियोगितामा सहभागी हुने भुटानको टोली पनि सोमबार नै नेपाल आइपुगेको थियो ।

थ्री नेसन्स कप चैत आठ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।

प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ ।

यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।