एल क्लासिको

एल क्लासिकोः रियालमाथि बार्सिलोनाको जित

काठमाडौं । एल क्लासिको भिडन्तमा साविक विजेता रियाल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । आइतबार राति घरेलु मैदानमा बार्सिलोनाले रियाललाई २–१ ले पराजित गरेको छ ।

जितसँगै बार्सिलोनाको २६ खेलबाट २२ जित र दुई बराबर तथा दुई हारबाट ६८ अंक छ । दोस्रो स्थानमा रहेको रियाल समान खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा छ ।

यो जितसँगै बार्सिलोनाले सन् २०१९ पछि ला लिगा उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । ०१९ पछि बार्सिलोना ला लिगा उपाधि विहिन छ । 

क्याम्प नोउमा सुरुवाती अग्रता भ्रमणकारी टोली रियालले नै लिएको थियो । बार्सिलोनाका रक्षक रोनाल्ड अरौजोले आफ्नै पोष्टमा बल छिराएपछि कार्लाे एन्सोलोटीको टोलीले अग्रता बनायो । हाफ समय अघि नै बार्सिलोना खेलमा फकियो । सर्जियो रोबर्टाेले बराबरी गोल गरे ।

दुबै टोलीले खेलमा केहिअवसर समेत बनाए । रियालका मार्काे एसेन्सियो गोल नजिक रहेर पनि सफल भएनन् । उनको गोल अफसाइड भयो । खेलको इन्जुरी समयमा एलेजान्ड्रो बाल्डेको पासमा मिडफिल्डर फ्रान्क केसिइले गोल गरेपछि बार्सिलोना विजयी भयो ।