पिएसजीबाट मेसीको पहिलो गोल, सिटीमाथि २-० को जित

पेरिस, (खेलाडी)- लियोनेल मेसीले पेरिस सेन्ट जर्मन (पिएसजी) का लागि पहिलो गोल गरेको दिन फ्रान्सेली लिग वानको महारथीले गत वर्ष सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग भोगेको हारको बदला लिने क्रममा मंगलबार राति २-० को जित हासिल गरेको छ । 

बार्सिलोनामा लामो समय बिताउने क्रममा ६ पटक बालन डी अर जितेका मेसीका पिएसजीमा सुरुआत राम्रो भएको थिएन । तर च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’को खेलमा मंगलबार राति गोल गर्दै उनले पिएसजीको कठिन जितमा भूमिका खेले । 

समूहको पहिलो खेलमा क्लब द्वब्रुगेसँग १-१ को निराशाजनक बराबरी खेलेको टोलीका लागि यो जित निक्कै महत्वपूर्ण सावित भयो । गत अप्रिलमा बायर्न म्युनिखलाई ३-२ को नतिजामा हराएयता पिएसजीको च्याम्पियन्स लिगमा यो पहिलो जित हो । 

सिटीको हकमा भने २०१८ सेप्टेम्बरयता च्याम्पियन्स लिग समूह चरणमा यो पहिलो हार हो । त्यतिबेला पनि सिटी फ्रान्सेली प्रतिद्वन्द्वीसँगै पराजित भएको थियो । लियोनले २०१८ मा सिटीमाथि २-१ को जित हासिल गरेको थियो । त्यसयता सिटी युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको समूह चरणमा १८ खेलसम्म अपराजित रहन सफल भएको थियो । 

घरेलु पार्क डेस प्रिन्सेस रंगशालामा मंगलबार पिएसजीको सुरुआत दमदार बनेको थियो । इद्रिसा गुइयेले आठौं मिनेटमै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

गोल खाएलगत्तै सिटीले खेल बराबरीमा ल्याउने अवसर पाएको थियो । तर रहिम स्टर्लिङ र बर्नार्डो सिल्भाका प्रहार क्रसबारमा ठोक्किएर फर्किँदा इङ्लिस च्याम्पियन खेलमा फर्किने अवसरबाट चुक्यो । 

दोस्रो हाफमा सिटीले खेलमा दबाब झनै बडाएको थियो । तर स्पष्ट अवसर जुटाउन भने भ्रमणकारी टोली असफल भइरहयो । जहाँ समय सकिन १६ मिनेट बाँकी रहँदा मेसीले आफ्ना पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाविरुद्ध च्याम्पियन्स लिगमा कीर्तिमानी सातौं गोल गरे । मेसीले किलियन एमबाप्पेको पासमा गोल गरेका थिए । 

पिएसजीका लागि पहिलो गोल गरे पनि मेसीको समग्र क्लब करियरमा यो ६ सय ७३औं गोल थियो । नयाँ क्लबका लागि भने यो चौथो खेलमा उनको पहिलो गोल हो । च्याम्पियन्स लिगमा मेसीको यो इङ्लिस क्लबविरुद्ध २७औं गोल हो । 

कुनै एक देशको क्लबविरुद्ध च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सुचीमा मेसीभन्दा क्रिस्टियानो रोनाल्डोमात्र अगाडि छन् । रोनाल्डोले जर्मन क्लबविरुद्ध २८ गोल गरेका छन् । 

पहिलो खेलमा पिएसजीलाई बराबरीमा रोकेको बेल्जियमको क्लब ब्रुगेले मंगलबार जर्मन बुन्डेसलिगाको आरबी लिपजिगमाथि २१ को जित हासिल गर्‍यो । 

मंगलबार दोस्रो चरणका खेल सकिँदा समान चार अंकका साथ पिएसजी र ब्रुगे क्रमषः पहिलो र दोस्रो स्थानमा छन् । पहिलो खेलमा लिपजिगमाथि ६-३ को जित हासिल गरेको सिटी तीन अंकसहित तेस्रो स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको लिपजिग पुछारमा छ ।