साफ च्याम्पियनसिप खेल्न इन्डोनेसियाबाट रोहित माल्दिभ्स लागे

काठमाडौं, (खेलाडी)- इन्डोनेसियाको शीर्ष डिभिजन लिग लिगा वानमा परसिजा जाकार्ताका लागि गोल गरेकै दिन मंगलबार नेपाली राष्ट्रिय टोलीका स्टार रोहित चन्द साफ च्याम्पियनसिपका लागि माल्दिभ्स लागेका छन् ।

जाकार्तामा त्यहाँको लिगअन्तर्गत मंगलबार भएको खेलमा रोहितले परसिताविरुद्धको खेलमा परसिजा जाकार्ताका लागि गोल गरेका थिए । रोहितले ३०औं मिनेटमा गरेको गोलमा परसिजाले अग्रता लिए पनि टोली १-१ को बराबरीमा टुंगिएको थियो । मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा परसिताका लागि इरस्यात मौलानाले बराबरी गोल गरेका थिए ।

इन्डोनेसियाको शीर्ष डिभिजन लिगमा रोहितको टोली परसिजा छैटौं स्थानमा छ ।

मंगलबारको खेल सकिएलगत्तै रोहित इन्डोनेसियाबाट दोहा हुँदै माल्दिभ्सका लागि प्रस्थान गरेका छन् । इन्डोनेसियाको समयअनुसार राति १ः४० मा जाकार्ताबाट दोहाका लागि उड्ने रोहित बुधबार दिउँसो स्थानीय समयअनुसार पौने चार बजे माले पुग्नेछन् ।

साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली हिजो माल्दिभ्स पुगेको थियो । माल्दिभ्स जानुअघि नेपाली टोलीले कतारमा दुई साता अभ्यास गरेको थियो । कतारमा विशेष प्रशिक्षण गर्ने क्रममा नेपालले त्यहाँको एक स्थानीय क्लब र ओमानको राष्ट्रिय टोलीसँग गरी दुई अभ्यास खेल खेलेको थियो । ओमानसँग ७-२ को अन्तरमा पराजित नेपालले कतारको दोस्रो डिभिजनको टोलीमाथि २-० को जित हासिल गरेको थियो ।