ओमानसँग नेपालको लज्जास्पद हार

काठमाडौं, (खेलाडी)- साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलमा ओमानसँग निरिह बनेको छ ।

कतार भ्रमणमा रहेको नेपाल आइतबार कतार युनिभर्सिटीको रंगशालामा ओमानसँग ७–२ ले पराजित भयो ।

फेमी सैदको गोलमा ओमानले ९औंं मिनेटमा अग्रता लियो । ३०औं मिनेटमा  ओमानका मोहसेन जाबरले बललाई जाली चुमाउदै अग्रता दोब्बर पारे ।

त्यसको दश मिनेटपछि अनन्त तामाङले गरेको गोलमा नेपालले खेलमा फर्कने संकेत गरेको थियो । पहिलो हाफमा नेपाल २-१ ले पछि परेको थियो ।

दोस्रो हाफ सुरु भएको चार मिनेटमा ओमानले थप दुई गोल ग¥यो । ४६औं मिनेटमा मोहसेन गावारले गोल गर्दै ओमानको अग्रता ३-१ मा पुयार्‍याएका थिए । त्यसको तीन मिनेटपछि नै मोहसेन अल घासानीले ओमानका लागि चौथो गोल गरे ।

६०औं मिनेटमा अब्दुल्लाजिज अल मुकावलले बललाई जाली चुमाउदै ओमानलाई फराकिलो जिततर्फ डोहोर्‍याएका थिए । त्यसको पाँच मिनेटपछि अल मुकावलले गरेको व्यक्तिगत दो‍स्रो गोलमा ओमानको अग्रता ६-१ मा पुगेको थियो । ७६औं मिनेटमा जामिल अल यहमादीले ओमानका लागि सातौ गोल गरे । ८५ औं मिनेटमा आयुष घलानले गरेकाे  गोलमा नेपालले गोल अन्तर घटाउने प्रयास गरेको थियो ।
नेपाल सोमबार कतारबाट माल्दिभ्स प्रस्थान गर्नेछ । 

नेपालले शनिबार आयोजक माल्दिभ्सविरुद्धको खेलसँगै साफ च्याम्पियनसिपको यात्राको सुरुआत गर्नेछ ।