साफ च्याम्पियनसिप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले डिफेन्डर राजन गुरुङ र गोलकिपर विकेश कुथुलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् । 

साफअघि आज नेपालले ओमानसङ मैत्रीपूर्ण खेल खेल्दैछ । कतारको युनिभर्सिटी मैदानमा खेल स्थानीय समय अनुसार रातको ७ बजे हुनेछ । हाल फिफा बरियतामा ओमान  ७८औं स्थानमा रहँदा नेपाल १ सय ६८औं स्थानमा छ । 

साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा प्रशिक्षणरत छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टिम कतारबाट साफका लागि सेप्टेम्बर २७ मा माल्दिभ्स जानेछ ।

आगामी अक्टोबर १ देखि १६ सम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ ।  दोस्रो खेल १८ असोजमा  श्रीलंकासँग खेल्नेछ।

नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा  २७ असोजमा बंगलादेशसँग खेल्नेछ । तालिकाको शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
यस पटक साफमा पाकिस्तान र भुटानको सहभागिता रहने छैन ।

नेपाली टिम:

गोलकिपर: किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की।

रक्षक: दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, रोहित चन्द, पुजन उपरकोटी ।

मिडफिल्डर: तेज तामाङ, सन्तोष तामाङ, सुमन लामा, सुरज जिउ ठकुरी, आयुष घलान, कमल थापा, सुजल श्रेष्ठ, नितिन थापा, मनिष डांगी, अन्जन विष्ट, विशाल राई, सुनिल बल ।

स्ट्राइकर: नवयुग श्रेष्ठ, आशिष लामा ।