एन्सेलोट्टीको आठ सयौं खेलमा रियाल बराबरीमा सीमित

मड्रिड, (खेलाडी)- भियारियालसँग गए राति गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिडले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर चुकाएको छ । 

कार्लो एन्सेलोट्टीको टोलीले घरेलु सान्टियागो बेर्नाबेउको मैदानमा खेलमाथि पकड बनाए पनि भियारियालको अनुसासित रक्षापंक्ति तोड्न भने सफलता प्राप्त गरेन । 

इटालियन प्रशिक्षक एन्सेलोट्टीको युरोपका शीर्ष पाँच लिगमा प्रशिक्षकको रुपमा यो आठ सयौं खेल थियो । 

बराबरीका बावजुद सात खेलमा १७ अंक जोडेको रियाल ला लिगा अंकतालिकाको शीर्ष स्थानमा कायम छ । गए राति नै इस्पन्योललाई २-० को नतिजामा हराएको सेभिया १४ अंकका साथ दोस्रो स्थानमा छ ।

घरेलु मैदानमा १० खेलाडीमा सीमित भएर खेलको अन्त्य गरेको सेभियाले युसुफ एन नेसिरी र बैकल्पिक खेलाडी राफा मिरको गोलमा सहज जित हासिल गरेको थियो । नेसिरीले १३औं मिनेटमा अग्रता दिलाएको टोलीका लागि मिरले समय सकिन तीन मिनेट बाँकी रहँदा दोस्रो गोल गरेका थिए । 

थोमस डेलानेले ६५औं मिनेटमा दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि सेभियाले बाँकी २५ मिनेटभन्दा बढि समय १० खेलाडीमा सीमित भएर संघर्ष गरेको थियो ।