लेवान्डोवस्कीले गोल गर्न नसके पनि बायर्न विजयी

म्युनिख, (खेलाडी)- रोबर्ट लेवान्डोवस्कीको लगातार गोल गर्ने क्रममा पूर्णविराम लाग्यो । बेन्जामिन पाभार्ड पनि रातो कार्ड सामना गर्दै मैदानबाट बाहिरिए । 

तर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको खेलमा शनिबार ग्रुथर फुर्थमाथि ३-१ को जित हासिल गर्दै सिजनको दमदार सुरुआतलाई निरन्तरता दिएको छ । नयाँ सिजनका ६ खेलमा पाँचौं जित हासिल गरेको बायर्न १६ अंकका साथ बुन्डेसलिगा अंकतालिकाको शीर्ष स्थानमा कायम छ ।

बुन्डेसलिगा अंकतालिकाको सबभन्दा माथि र सबभन्दा तल रहेका दुई टोलीबीचको बाभारियन डर्बीमा शनिबार थोमस मुलर, जोसुआ किमिच र स्पोर्टपार्क रोनहोफको गोलमा बायर्नले पहिलो हाफमै खेल आफ्नो नियन्त्रणमा ल्याइसकेको थियो । 

दोस्रो हाफको सुरुआतमै जेरेमी डुड्जियाकमाथि खराब फाउल गरेवापत फ्रान्सेली फुलब्याक पाभार्डले रातो कार्ड सामना गरेपछि फुर्थसामू पुनरागमनको आशा जागेको थियो । 

तर साविक विजेता टोलीले नवप्रवेशी प्रतिद्वन्द्वीमाथि रवाफ बाँकी समय पनि कायम राखिरहयो । त्यसका बावजुद जर्मन बुन्डेसलिगामा लगातार १६ खेलसम्म गोल गर्ने ग्रेड मुलरको कीर्तिमान बराबरी गर्न बायर्नका स्टार स्ट्राइकर लेवान्डोवस्की सफल भएनन् । उनले यसअघि लगातार १५ खेलसम्म गोल गर्ने क्रमलाई निरन्तरता दिएका थिए । 

जर्मन बुन्डेसलिगामा शनिबारै भएका अन्य खेलमा बायर लेभरकुुसनले मेइन्ज, बोरुसिया मोन्चेनग्लाडबाचले बोरुसिया डर्टमन्ड तथा युनियन बर्लिनले अर्मिनिया बेलेफिल्डमाथि १-० को समान अन्तरमा जित हासिल गरे । 

यसैगरी आरबी लिपजिगले हार्था बर्लिनलाई ६-० को एकतर्फी नतिजामा पराजित गर्दा होफेनहेइमले उल्फसबर्गलाई ३-१ को नतिजामा निराश पार्यो । इन्ट्रयाक्ट फ्रयांकफर्ट र एफसी कोलोग्नबीचको खेल १-१ को बराबरीमा टुंगियो । 

शनिबारका नतिजापछि बायर्न तीन अंकको अग्रतासहित शीर्ष स्थानमा कायम रहँदा समान १३ अंकका साथ लेभरकुसन र उल्फसबर्ग दोस्रो तथा तेस्रो स्थानमा छन् । डर्टमन्ड १२ अंकका साथ चौथो स्थानमा छ ।