सालाहको कोसेढुंगा, लिभरपुल बराबरीमा रोकियो

ब्रेन्टफोर्ड, (खेलाडी)- इजिप्टका फरवार्ड मोहम्मद सालाहले लिभरपुलका लागि इङलिस प्रिमियर लिगमा एक सयौं गोलको कोसेढुंगा छोएको दिन योर्गान क्लोपको टोलीले शनिबार ब्रेन्टफोर्डसँग ३-३ को बराबरी नतिजामा चित्त बुझाएको छ । 

सालाहले यसै महिना लिड्स युनाइटेडमाथि जित हासिल गरेको खेलमा नै प्रिमियर लिगमा एक सय गोलको कोसेढुंगा छोएका थिए । यस्तो सफलता हासिल गर्ने उनी प्रिमियर लिगमा ३०औं खेलाडी बनेका थिए । 

तर तिमध्ये दुई गोल उनले चेल्सीबाट गरेका थिए । शनिबार ब्रेन्टफोर्डसँग बराबरी खेल्दा ५४औं मिनेटमा गोल गर्दै उनले लिभरपुलको जर्सीमा पनि एक सय गोल पूरा गरेका थिए । उनको गोलसँगै लिभरपुलले खेलमा २-१ को अग्रता लिएको थियो । 

तर टोली जित निकाल्न भने सफल भएन । इथान पिनकको गोलमा घरेलु टोली ब्रेन्टफोर्डले २७औं मिनेटमा अग्रता लिएको थियो । डियोगो जोटाको गोलमा लिभरपुलले ३१औं मिनेटमा खेल बराबरीमा ल्यायो । 

सालाहले ५४औं मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाए । तर भिटाली जेनेटले ६३औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काए । 

कर्टिस जोन्सले ६७औं मिनेटमा गोल गरेपछि लिभरपुल जितको बाटोमा अघि लागेको थियो । तर बैकल्पिक खेलाडी योहान विसाले ८२औं मिनेटमा ब्रेन्टफोर्डका लागि बराबरी गोल गरे ।

शनिबार शीर्ष टोलीहरुले निराशाजनक नतिजा सामना गरेको कारण बराबरीमै रोकिए पनि लिभरपुल ६ खेलमा १४ अंकका साथ प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा रहन सफल भयो । 

चेल्सीलाई १-० ले पराजित गरेको म्यानचेस्टर सिटी १३ अंकका साथ दोस्रो स्थानमा छ । समान १३ अंक भए पनि चेल्सी, म्यानचेस्टर युनाइटेड र एभर्टन तेस्रो, चौथो तथा पाँचौं स्थानमा छन् । युनाइटेड एस्टन भिल्लासँग १-० कै नतिजामा पराजित भएको थियो । 

यसैगरी एभ्र्टनले नर्विच सिटीलाई २-० को नतिजामा हराएको थियो भने वेस्ट हमले लिडस युनाइटेडमाथि २-१ को जित हासिल गरेको थियो । वाट्फोर्ड र न्युक्यासलले १-१ को बराबरी खेल्दा लेस्टर र बर्नलीले २-२ को बराबरी नतिजा निकालेका थिए ।