जुनियर माल्डिनीले शीर्ष डिभिजनमा पहिलो गोल गर्दा मिलान विजयी 

मिलान, (खेलाडी)- ड्यानिअल माल्डिनीले इटालियन सिरी ‘ए’को आफ्नो पहिलो खेलमा गोल गर्दै सुखद सुरुआत गरेको दिन ब्राहिम डियाजले अन्तिम समयमा गोल गरेपछि एसी मिलानले शनिबार स्पेजियालाई २-१ को नतिजामा हराएको छ । 

इटाली र मिलानका पूर्व हस्ती पाउलो माल्डिनीका छोरा ड्यानिअलले शीर्ष डिभिजनमा स्वर्णिम सुरुआत गर्ने क्रममा शनिबार साँझ अल्बर्टो पिक्को रंगशालामा स्टेफानो पियोलीको टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको तेस्रो मिनेटमा पिरे कालुलुको पासमा माल्डिनीले गोल गरेका थिए । तर समय सकिन १० मिनेट बाँकी रहँदा बैकल्पिक खेलाडी ड्यानिअल भेर्डेको गोलमा घरेलु टोली स्पेजियाले खेल बराबरीमा ल्यायो । 

ब्राहिम डियाजले समय सकिन चार मिनेट बाँकी रहँदा गोल गर्दै मिलानलाई महत्वपूर्ण तीन अंक दिलाए । डियाजले एलेक्सिस सिलेमेकर्सको पासमा मिलानका लागि विजयी गोल गरेका थिए ।

इटालियन सिरी ‘ए’मा शनिबारै भएको अर्को खेलमा साविक विजेता इन्टर मिलान घरेलु मैदानमा एट्लान्टासँग २-२ को बराबरीमा रोकियो । 

लाउटारो मार्टिनेजको गोलमा पाँचौं मिनेटमै अग्रता लिए पनि इन्टरले बराबरीका लागि समेत इडेन जेकोले ७१औं मिनेटमा गरेको गोलमा भर पर्नुपर्यो । टोलीका लागि फेडेरिको डिमार्कोले समय सकिन चार मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टी खेर फालेपछि इन्टर अंक बाडन बाध्य भएको थियो । 

यसबीचमा एट्लान्टाका लागि रुस्लान मालिनोभस्कीले ३०औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए भने त्यसको आठ मिनेटपछि राफेल टोलोईले टोलीलाई २-१ को अग्रता दिलाएका थिए । 

इन्टर बराबरीमा रोकिएपछि मिलान ६ खेलको समाप्तीमा १६ अंकका साथ शीर्ष स्थानमा एकल कब्जा जमाउन सफल भयो । इन्टर भने १४ अंकका साथ तेस्रो स्थानमा सीमित भएको छ । यसैगरी एट्लान्टा ११ अंकका साथ पाँचौं स्थानमा रहँदा चार अंक जोडेको स्पेजिया १७औं स्थानमा छ ।