भार्डीको गोलमा लेस्टरलाई एक अंक

लन्डन, (खेलाडी)- जेमी भार्डीले समय सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि इङलिस प्रिमियर लिगको खेलमा शनिबार लेस्टर सिटी घरेलु मैदानमा बर्नलीसँग पराजित हुनबाट जोगिएको छ ।

लेस्टरले बर्नलीसँग २-२ को बराबरी नतिजा निकालेको खेलमा भार्डी तीन गोलमा संलग्न रहे । उनकै आत्मघाति गोलमा भ्रमणकारी बर्नलीले १२औं मिनेटमा अग्रता लिएको थियो । 

आत्मघाति गोलको सोधभर्ना मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा बराबरी गोलसाथ गरेका भार्डीले समय सकिन पाँच मिनेट बाँकी रहँदा अर्को गोल गरेर लेस्टरलाई एक अंक दिलाए । 

यसबीचमा मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा म्याक्सवेल कोर्नेटले गोल गर्दै बर्नलीलाई २-१ को अग्रता दिलाएका थिए । 

प्रिमियर लिगमा शनिबारै भएका अन्य खेलमा वेस्ट हमले लिडस युनाइटेडलाई २-१ को नतिजामा हराउँदा एभर्टनले एन्ड्रोस टाउनसेन्ड र एब्डोलिए डोकोरेको गोलमा नर्विच सिटीलाई २-० ले हरायो । 

यसैगरी वाट्फोर्ड र न्युक्यासलले १-१ को बराबरी नतिजा निकालेको दिन चाडोगरी भएका खेलमा म्यानचेस्टर सिटीले चेल्सी तथा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई १-० को समान अन्तरमा पराजित गरे । 

शनिबारै ढिलोगरी हुने लिभरपुल र ब्रेन्टफोर्डबीचको खेलअघि लिभरपुल, सिटी, चेल्सी, युनाइटेड र एभर्टन समान पाँच अंकका साथ प्रिमियर लिग अंकतालिकाको शीर्ष पाँच स्थानमा छन् ।