युरोपा लिग

युनाइटेड अन्तिम १६ मा

लन्डन । एन्टोनीको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड बिहीबार बार्सिलोनालाई २-१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । 

गत साता बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा बार्सिलोना र युनाइटेडले २-२ को बराबरी खेलेका थिए । दोस्रो लेगमा निकालेको जितसँगै इरिक टने हागको टोली समग्रमा ४-३ को जितसहित अघिल्लो चरण प्रवेश गरेको हो । 

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा बार्सिलोनाले १८औं मिनेटमा रोबर्ट लेवान्डोवस्कीको गोलमा अग्रता लिएको थियो ।

४७औं मिनेटमा फ्रेडले गरेको गोलमा युनाइटेड खेलमा फर्किएको थियो । ७३औं मिनेटमा एन्टोनीले युनाइटेडको अग्रता २-१ मा पुर्याएका थिए । जुन गोल टोलीको अघिल्लो चरणको यात्राका लागि पर्याप्त बन्यो ।

सन् २००८ अप्रिलमा च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगमा १-० को जित निकालेपछि युनाइटेडले बार्सिलोनाविरुद्धको खेलको नतिजा आफ्नो पक्षमा पारेको यो पहिलो पटक हो ।

युनाइटेडले शनिबार इङ्लिस लिग कपको फाइनलमा न्युक्यासलको सामना गर्नेछ । युनाइटेड ६ वर्ष देखीको उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।