इन्टरपोलको सुचीमा रहेका उपराष्ट्रपती फुटबल मैदानमा 


पारामारिबो, (खेलाडी)- दक्षिण अमेरिकी राष्ट्र सुरिनामका ६० वर्षे उपराष्ट्रपती रोनी ब्रुन्सविकले व्यावसायिक फुटबल लिग कन्काकाफ लिग खेलेका छन् ।

आफ्नो राजीतिक जिम्मेवारीबाट मंगलबार विश्राम लिँदै उनले इन्टर मोइन्गोटापोईको तर्फबाट व्यावसायिक फुटबल खेलेका हुन् । सुरिनामको राष्ट्रपती बन्ने सम्भावनासमेत बोकेका रोनीले मोइन्गोटापोईको कप्तानी गर्दै ५४ मिनेटसम्म मैदानमा बिताएका थिए ।

रोनी इन्टर मोइन्गोटापोईको मालिक पनि हुन् । तर, उनको कप्तानीमा रहेको मोइन्गोटापोईले कन्काकाफ लिगमा होन्डुरसको क्लब सिडी ओलिम्पियासँग ६-० को फराकिलो हार बेहो¥यो । सुरिनामको राजधानी पारामारिबोमा भएको उक्त खेलमा उपराष्ट्रपति एवम् टोलीका कप्तान रोनीले ६१ नम्बरको जर्सी लगाएका थिए । 

उक्त जर्सीको संकेत सन् १९६१ पनि हो, जुन दिन रोनीको जन्म भएको थियो । सिडी ओलिम्पियाविरुद्धको खेलमा उनले फरवार्डको भूमिका निर्वाह गरे । मोइन्गोटापोईको अग्रपंक्तिमा उनलाई आफ्नै छोरा डामियन ब्रुन्सविकले साथ दिएका थिए । ‘

देशका उपराष्ट्रपति तथा क्लबका अध्यक्ष रोनी ब्रुन्सविक अन्तर्राष्ट्रिय फुटबल क्लब प्रतियोगिता खेल्ने सबैभन्दा पाका (६० वर्ष १९८ दिन) खेलाडी बनेका छन्,’ खेलका कमेन्टेटरले ट्विट गरेका थिए । उनी सुरिनामका पूर्वसेना र पूर्वविद्रोही नेतासमेत हुन् ।

उनले सन् १९८० को दशकमा सुरिनामका तानाशाह डेसी बाउटर्सविरुद्धको गृह युद्धमा पनि भाग लिए । एक समय डेसीका अंगरक्षकसमेत हुन् । 

अहिले उनी देशका धनी व्यवसायी तथा राजनीतिज्ञ हुन् । सन् १९९९ मा लागु औषध तस्करीमा दोषी ठहर गर्दै सुरिनामको पूर्व उपनिवेश राष्ट्र नेदरल्यान्डको एक अदालतले उनलाई आठ वर्षको जेल सजाय सुनाएको थियो ।

फ्रान्सको अदालतले पनि सोही मुद्दामा रोनीलाई दोषी ठहर गर्दै सन् २००० मा उनलाई १० वर्षको सजाय तोकेको थियो । तर, उनी देशभित्र नै बसे र राष्ट्रले पनि उनलाई कुनै पनि देशमा सुम्पिएन । त्यसपछि उनी सन् २००५ मा संसदमा निर्वाचित भए । 

पूर्व न्याय मन्त्री चन्द्रिकापर्सद सन्तोखीको नेतृत्वमा रहेको प्रमुख प्रतिपक्ष दलसँगको गठवन्धनबाट उनले संसदीय व्यवस्थामा पहिलो सफलता प्राप्त गरे । सन् २०२० मा सन्तोखी पाँच वर्षका लागि सुरिनामको राष्ट्रपति निर्वाचित हुँदा उनी पनि उपराष्ट्रपति भए ।

फुटबलमा मंगलबार ठूलो सफलता हात पारे पनि सिडी ओलिम्पियासँगको दोस्रो लेगका लागि रोनी होन्डुरस भने जाने छैनन् । किनकी उनी पनि काननी समस्या खेप्ने पक्षमा छैनन् ।