अल नासर

साउदीमा रोनाल्डोको पहिलो गोल

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि अल नासर साउदी प्रिमियर लिगमा हारबाट जोगिएको छ ।

अल नासर प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्टस सिटी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा घरेलु टोली अल फातेहसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस नतिजासंगै अल नसार १५ खेलमा ३४ अंकका जोडेर शीर्ष स्थानमा रहँदा अल फतेह समान खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा छ ।

अल फातेहका क्रिस्टियन टेलो र सोफिएन बेन्डेब्का तथा अल नासरका एन्डरसन टालिस्का र रोनाल्डोले गोल गरे ।

खेलको १२ औं मिनेटमा टेलोले गोल गर्दै अल फातेहलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा टालिस्काले खेललाई १-१ को बराबरीमा ल्याए ।

५८ औं मिनेटमा सोफिएन बेन्डेब्काले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । जिततर्फ अग्रसर बने पनि अन्तिम समयमा सम्हालिन नसक्दा अल फातेह अंक बाँड्न बाध्य बन्यो । 

 इजुरी समयमा नोह अल मोउसाले पेनाल्टी बक्समा जालोलिडडिन मासहरिपोभलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टीको अवसर दिएका थिए ।

रोनाल्डोले पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । साउदीको लिगमा रोनाल्डोको यो पहिलो गोल हो । 

रोनाल्डाले अल नासरका लागि लिगमा दोस्रो तथा सम्रगमा तेस्रो खेलमा गोल गरेका हुन् ।  इजुरी समयमा टालिस्काले रातो कार्ड ब्यहोदै मैदान छाडेपछि अल नासर १० खेलाडीमा सिमित बनेको थियो ।