रियाल मड्रिड

बेन्जेमाको अवस्था सामान्य, मिलिटाओको चोट गम्भीर

मड्रिड । स्पेनिस महारथी रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले घाइते स्ट्राइकर करिम बेन्जेमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि रक्षक एडर मिलिटाओको चोटले भने आफूलाई चिन्ता दिएको बताएका छन् ।

लामो समयदेखि काछको समस्याबाट गुज्रिइरहेका बेन्जेमाले आइतबार स्पेनिस ला लिगाअन्तर्गत रियाल मायोर्कासँगको खेल गुमाउने सम्भावना बलियो छ ।

रियालले बिहीबार राति भएको खेलमा भ्यालेन्सियामाथि २-० को जित निकालेको थियो । उक्त खेलमा रियालका रक्षक मिलिटाओ घाइते भएका थिए ।

रियालका लागि मार्काे एसेन्सियोले ५२ औँ मिनेटमा सुरुआती गोल गरेका थिए । त्यसको दुई मिनेटपछि भिनिसियस जुनियरले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

ला लिगामा रियालले शीर्ष स्थानको बार्सिलोनालाई पाँच अंकले पछाइरहेको छ ।

बालन डी’अरका दाबेदार मिलिटाओ पहिलो हाफमै घाइते भएर मैदान छोड्न बाध्य भएका थिए ।

खेलपछि एन्सेलोट्टीले भने, ‘करिमको अवस्था सामान्य छ । तर , मिलिटाओको अवस्था गम्भीर देखिन्छ । उनी आइतबारको खेलमा उपस्थित हुदैनन्’ ।
‘विश्वकपपछि जनवरी महिना रियालका लागि निक्कै कठिन थियो तर हामी फेब्रुअरीमा हामी लयमा फर्किन सफल भयौं,’ एन्सेलोट्टीले थपे ।

बेन्जेमाले रियालका लागि १२ खेलमा ११ गोल गरिसकेका छन् । सिजनको पहिलो ९ खेलमा बेन्जेमाले पाँच गोल गरिसकेका थिए । मिलिटाओले ला लिगाका १६ खेलमा तीन गोल गरिसकेका छन् ।