विशाल राई

विशाल अस्ट्रेलिया प्रस्थान

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिड्फिल्डर विशाल राई  आफ्नो भविष्य सुरक्षित बनाउनका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

विशाल शुक्रबार बिहान अस्ट्रेलिया प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान सुजल श्रेष्ठ, व्यवस्थापक अनिल श्रेष्ठलगायत मछिन्द्र क्लबका खेलाडीहरुले विदाई गरेका थिए ।

सुजलले उनको विदाईपछि फेसबुकमा लेखेका छन्, ‘तिमीसँगको यु-२० देखि राष्ट्रिय टिमसम्म आइपुग्दा करिब २० वर्ष लामो यो फुटबलको सहयात्रामा राष्ट्रिय टिम र क्लबमा हुँदा बिताएका हरेक सुखः दुखःका पल सदैव याद आइरहने छ । हाम्रो देशको खेलकुदको वर्तमान अवस्था, अन्योल भविष्यको कारणले गर्दा तिमीजस्तो प्रतिभावान र देशकै गहना यसरी विदेशीयको पलले सम्पूर्ण नेपाली खेलकुद र खेलकुद प्रेमिलाई दुखी बनाएको महसुस गरेको छु । कठै मेरो देश । उज्ज्वल भविष्य र सफल्ताको शुभकामना प्रिय मित्र विशाल राई ।’

यसैगरी मछिन्द्र क्लब तथा नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक श्रेष्ठले पनि विशालको विदाईमा भावुक हुँदै फेसबुकमा स्ट्याटस लेखेका छन् । ‘फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई तिमीले दिएको योगदान सदैव अविस्मरणीय रहिरहने छ । विशाल भाइलाई उज्ज्वल भविष्यको कामना । तिम्रो अस्ट्रेलिया बसाई सुखद एवम् फलदायक रहोस्,’ उनले लेखेका छन् ।

एन्फा एकेडेमीको चौथो ब्याचका खेलाडी विशाल २०१४ यता निरन्तर राष्ट्रिय टोलीमा थिए । २०१५ अगस्ट ३१ मा भारतविरुद्धको मैत्रीपूर्ण खेलबाट विशालले अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका थिए ।

पछिल्लो समय मछिन्द्र फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका विशालले आप्mनो करियर मनाङ मर्स्याङदी क्लबबाट सुरु गरेका थिए । विशालले पछिल्ला चार वर्ष लगातार ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् । मनाङबाट दुई पटक लगातार शीर्ष डिभिजनको लिग जितेका उनी पछिल्ला दुई सिजन मछिन्द्रले उपाधि उचाल्दाका मुख्य खेलाडी थिए ।

पछिल्लो समय सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया पलायन हुने नेपाली खेलाडीको संख्या प्रत्येक दिन बढिरहेको छ । दुई साता अगाडी मात्र नेपाली राष्ट्रिय टोलीका नियमित सदस्यहरु दिनेश राजवंशी, तेज तामाङ, नितिन थापा र गौतम श्रेष्ठ अस्ट्रेलिया पुगेका थिए ।

नेपाली फुटबलमा भविष्य नदेखेर यो वर्ष मात्र तीन दर्जनभन्दा बढि राष्ट्रिय स्तरका खेलाडीले अस्ट्रेलिया, दुबई तथा अन्य मुलुकको गन्तब्य रोजिसकेका छन् ।