राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना नेगेटिभ

काठमाडौं, जेठ १७ (खेलाडी)– विश्वकप तथा एसियन कपको संयुक्त छनोटका खेलहरु खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

कोरोना महामारीले पूरा देशलाई आक्रान्त पारेका बेला मैत्रीपूर्ण खेल खेल्न गएको नेपाली राष्ट्रिय फुटबल टोली इराकलाई ६–२ को नतिजा सुम्पँदै विश्वकप तथा एसियन कपको संयुक्त छनोटका लागि हिजो राति कुवेत पुगेको थियो । 

हिजो साँझ इराकबाट स्थलयात्रामार्फत कुवेत पुग्नेवित्तिकै नेपाली टोलीका सबै सदस्यको पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएको थियो । अहिले केही बेरअघि सबैको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।  

विश्वकप २०२२ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणका दोस्रो लेगका लागि कुवेतको मैदान उत्रिनुअघि नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । 

कोरोना भाइरसको महामारी डरलाग्दो ढंगले नेपालमा बढ्न थालेका कारण नेपालले विश्वकप तथा एसियन कपको छनोटअन्तर्गतका तीनवटा घरेलु खेलहरु कुवेतमा खेल्न लागेको हो । यसअघि नेपालले महामारी सुरु हुनुपूर्व नै अवे खेलका लागि चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाको भ्रमण गरिसकेको थियो । अब कुबेतलाई घरेलु मैदानका रुपमा प्रयोग गरेर नेपालले जुन ३ मा चाइनिज ताइपेईसँग खेल्नेछ भने त्यसको चार दिनपछि जोर्डन तथा जुन ११ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले यसअघिका पाँच खेलमध्ये एकमा जित निकालेको थियो भने ४ खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध ७–० को फराकिलो पराजय भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा ०–२ को नतिजामा पराजित गरेको थियो ।

तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० को हार बेहोरेको नेपाल चौथो खेलमा जोर्डनसँग ३–० गोलको नतिजामा पराजित भयो । भूटानमा भएको कुवेतविरुद्धो दोस्रो लेगमा १–० ले पराजित भएको नेपालले अझै तीन खेल खेल्न बाँकी छ ।