समूह डी

जित यात्रा कायम राख्ने फ्रान्सको चाहाना

दोहा । साविकको विजेता फ्रान्स आज समूह डी को अन्तिम खेलमा ट्युनिसयाको सामना गर्दा शतप्रतिशत जित यात्राको निरन्तरता चाहन्छ । 

समूह डी मा रहेको फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियामाथि ४–१ र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको थियो । दुई खेलमा ६ अंक जोडेको फ्रान्स यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । फ्रान्स लगातार तेस्रो जितसहित समूह विजेता बन्न चाहन्छ ।

फ्रान्सले ट्युनिसियालाई नतिजा सुम्पिए पनि अर्को खेलमा डेनमार्क र अस्ट्रेलियाले अंक बाँडेमा पनि डिडियर डेसच्याम्पसको टोली समूह विजेता बन्ने छ ।

विश्वकपअघि मात्र स्ट्राइकर करिम बेन्जेमा बाहिरिएका कारण दबाबमा रहेको फ्रान्सका लागि किलियन एमबाप्पे उच्च लयमा छन् । अस्ट्रेलियाविरुद्ध एक गोल गरेका एमबाप्पेले दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरेका थिए  । डेसच्याम्पस ट्युनिसयाविरुद्ध पनि एमबाप्पेको गोल लय कायम रहेका हेर्न चाहन्छन । त्यस्तै ओलिभर जिरौउडले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।

यद्धपी अन्तिम १६ मा स्थान बनाइसकेकाले पनि डेसच्याम्पसले केही प्रमुख खेलाडीलाई ट्युनिसियाविरुद्ध आराम दिने सम्भावना पनि रहेको छ । 

ट्युनिसियाले दुई खेलमा एक अंक मात्र जोडेको छ । पहिलो खेलमा डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको ट्युनिसिया दोस्रो खेलमा भने अस्ट्रेलियासँग पराजित भएको थियो । त्यसैले ट्युनिसियालाई अन्तिम १६ को टिकट पक्का गर्न फ्रान्समाथि फराकिलो जितका साथै अर्को खेलमा डेनमार्क र अस्ट्रेलियाले बराबरी गरेको हुनुपर्दछ । 

ट्युनिसयाले जारी विश्वकपमा गोल खाता खोल्न सकेको छैन ।  विश्वकप छनोटमा ट्युनिसयाका लागि सबै भन्दा प्रभावशाली खेलाडी रहेका भेट्रान स्ट्राइकर वाहवी काजरीले दुई खेल गरि मात्र २४ मिनेट मात्र खेलेका छन् । फ्रान्सविरुद्ध काजिरीले पहिलो रोजाईमा अवसर पाउने सम्भावना रहेको छ । 

त्यस्तै आजै हुने समूह डी को अर्को खेलमा अस्ट्रेलिया र डेनमार्क भिड्दैछन् । अस्ट्रेलियाको दुई खेलमा तीन अंक छ भने डेनमार्कको दुई खेलमा मात्र एक अंक छ । 
ट्युनिसियामाथि फ्रान्सको जित र डेनमार्कसँग आफ्नो बराबरीले पनि अस्ट्रेलियाले नकआउट चरणको टिकट काट्ने पर्याप्त हुनेछ ।