क्यामरुन

निलम्बनको खबरले दुखी छुः ओनाना

दोहा । क्यामरुनले  गोलकिपर आन्द्रे ओनानाले आफूलाई टोलीबाट निलम्बन गरिएको निर्णयले दुखी भएको बताएका छन् ।

मुख्य प्रशिक्षक रिगोबेर्ट सोङले अनुशासन तोडेका भन्दै सोमबार समूह जी अन्तर्गत सर्बियाविरुद्ध ३–३ को बराबरी खेलेको खेलमा ओनानाको स्थानमा दोस्रो रोजाईका गोलकिपर डविस इपासलाई मैदान उतारेका थिए ।

क्यामरुन फुटबल संघले पनि मुख्य प्रशिक्षकको निणर्यलाई समर्थन गर्दै ओनानामाथि अनुशासन तोडेको र त्यसको सजाय स्वरुप उनलाई निलम्बन गरिएको जनाएको थियो ।

ओनानाले परम्परागत शैली पछ्याएको र मुख्य प्रशिक्षकसँग कुरा नमिलेपछि उनलाई टिमबाट हटाइएको खबर सार्वजनिक भएको थियो । 

तर ओनानाले भने  आफू सधै क्यामरुनको सफलताको पक्षमा रहेकाले टोलीको हितमा हुने सबै निर्णय मान्न तयार रहे पनि विभेदपूर्ण रुपमा टोलीबाट निलम्बन गरिएकोमा भने दुखी भएको बताए । 

‘मैले सधै क्यामरुनको सफलतामा शतप्रतिशत दिएको छु, ’ओनानाले भने, ‘तर सर्बियाविरुद्धको खेलमा मलाई मैदान उत्रने अवसर दिइएन ,ममाथि विभेदपूर्ण व्यवहार गरियो । जसका कारण म प्रशिक्षण छोड्न बाध्य भएको हुँ । ’

म क्यामरुन फुटबलको सफलताको कामना गर्छु;,उनले थपे, हामीले आफुहरु पनि क्षमतावान छौ भन्ने प्रमाणित गरिसकेका छौ ।'

पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले पराजित भएको क्यामरुनले दोस्रो खेलमा सर्बियासँग ३-३ को बराबरीमा रोकिएको थियो । 

समूह जी बाट ब्राजिल अन्तिम १६ मा प्रवेश गरिसकेको छ । ब्राजिलको दुई खेलमा ६ अंक छ । अन्तिम खेलमा क्यामरुनले ब्राजिलको सामना गर्दैछ  । सो खेल जितेमा क्यामरुनले अन्तिम १६ को टिकट काट्ने छ ।