कतार विश्वकप २०२२

आयोजक कतारको यात्रामा औपचारिक पूर्णविराम, नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा, इक्वेडर स्तब्ध

काठमाडौं । नेदरल्यान्ड्स र सेनेगलले मंगलबार समूह चरणका अन्तिम खेलमा जित हासिल गर्दै कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान पक्का गरेका छन् ।

आ-आफ्नो खेलमा जित हासिल गरेपछि सात अंकका साथ नेदरल्यान्ड्स विजेताका रुपमा अगाडि बढ्दा सेनेगल उपविजेताको हैसियतमा अन्तिम १६ प्रवेश गरेको छ ।

क्वार्टरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सले समूह ‘बी’को उपविजेता तथा सेनेगलले विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’बाट नकआउट चरण पुग्ने दुई टोलीको निर्णय आजै राति १२ः४५ बजे हुने खेलले निर्णय गर्नेछ ।

समूह ‘बी’मा दुई खेलको समाप्तीमा चार अंकका साथ इङ्ल्यान्ड शीर्ष स्थानमा छ भन् इरान तीन अंकका साथ दोस्रो स्थानमा छ । यसैगरी दुई अंक जोडेको अमेरिका तेस्रो तथा एक अंक बटुलेको वेल्स पुछारमा छ ।

सबै टोलीका लागि नकआउट चरणको ढोका खुल्ला रहेको अवस्थामा आज निर्णायक खेलमा अमेरिका र इरान तथा इङ्ल्यान्ड र वेल्सबीच एकै समयमा प्रतिस्पर्धा हुनेछ ।

अल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको इक्वेडरविरुद्धको रोमाञ्चक खेलमा २-१ को जित हासिल गर्दै सेनेगलले कतार विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।

दुई मिनेट ३१ सेकेन्डको बीचमा दुई गोल भएको खेलमा इक्वेडरका लागि ६९औं मिनेटमा फेलिक्स टोरेसले मिलाएको अवसरलाई मोइसेस काइसेडोले बराबरी गोलमा परिणत गरेका थिए ।

त्यसको साढे दुई मिनेटपछि कालिडु कौलिबालीले सेनेगलका लागि गोल गर्दै टोलीको अग्रता पुनस्थापित गरेका थिए । त्यसअघि मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा इस्माइला सारले पेनाल्टीमा गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए ।

दुई खेलमा तीन अंकका साथ तेस्रो स्थानमा रहेर मंगलबार समूह ‘ए’ को अन्तिम खेलका लागि मैदान उत्रिँदा सेनेगललाई जित अपरिहार्य थियो । जवकि इक्वेडरलाई भने आजको खेलमा बराबरी नतिजा निकाल्न सकेको भए पनि नकआउट चरण प्रवेशका लागि पर्याप्त हुन्थ्यो । 

एकै समूहमा समूहका दुवै खेल सुरु हुँदा नेदरल्यान्ड्स र इक्वेडर समान चार अंकका साथ शीर्ष दुई स्थानमा रहेर मैदान उत्रिएका थिए । अघिल्ला दुवै खेलमा पराजित भएको आयोजक कतार भने प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।

समूहका पहिलो दुई खेलमा नेदरल्यान्ड्सले सेनेगलमाथि २-० को जित हासिल गर्नुका साथै इक्वेडरसँग १-१ को बराबरी नतिजा निकालेको थियो ।

यसैगरी सेनेगलले कतारमाथि ३-१ को जित हासिल गरेको थियो । सुरुका दुवै खेल हारेको कतार उद्घाटन खेलमै इक्वेडरसँग २-० को नतिजामा निराश भएको थियो ।

आफैले आयोजना गरेको विश्वकपमा समूहका सबै खेल हारेर विना अंक प्रतियोगिताबाट बाहिरिएको कतार मंगलबार अल थुमामा रंगशालामा युरोपेली महारथी नेदरल्यान्ड्ससँग २-० को नतिजामा पराजित भयो ।

कोडी गाक्पोले जारी विश्वकपका प्रत्येक खेलमा गोल गर्ने क्रमलाई निरन्तरता दिँदा नेदरल्यान्ड्स २६औं मिनेटमा अघि लागेको थियो ।

डेभी क्लासेनको पासलाई गोलमा परिणत गर्दै गाक्पोले जारी विश्वकपमा आफ्नो व्यक्तिगत गोलसंख्या तीन पुर्याएका थिए ।फ्रयांक डी योङले मध्यान्तरपछिको चौथो मिनेटमा नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा स्टेभन बर्गहाउसले नेदरल्यान्ड्सका लागि तेस्रो गोल गर्दै जितअन्तर थप फराकिलो पारेका थिए ।

तर भिडियो सहायक रेफ्रीले गोल हुनुअघि मुभ बुन्ने क्रममा गाक्पोको ह्यान्ड भएको पत्ता लगाएपछि उक्त गोल अमान्य भयो ।