घाना

उरुग्वे र स्वारेजसँग बदला लिने साेच छैन – एडो

दोहा । घानाका मुख्य प्रशिक्षक ओट्टो एडोले समूह चरणको अन्तिम खेलमा उरुग्वेविरुद्ध  खेल्दा बदलाकाे  भावना नलिने बताएका छन्र ।

सोमबार दक्षिण कोरियालाई ३–२ को रोमाञ्चक जित हासिल गरेको एडोको घानाले अन्तिम १६ को आशा जिवितै राखेको छ । शुक्रबार घानाले उरुग्वेसँग खेल्नेछ ।  विश्वकप इतिहासमा तेस्रो पटक नकआउट चरण प्रवेश गर्ने हो भने घानाले  उरुग्वेविरुद्ध   जित हासिल गर्न जरुरी छ । यसअघि घानाले २००६ र २०१० मा नकआउट चरण खेलेको थियो ।

घाना र उरुग्वे विश्वकपमा १२ वर्षपछि भेट्न लागेका हुन् । २०१० मा यी दुई राष्ट्रको भेट क्वार्टरफाइनलमा भएको थियो । जसमा घाना नाटकीय रुपमा पराजित भएको थियो ।

२०१० मा  घानाका लागि सुले मुन्तारीले पहिलो गोल गरेका थिए । त्यसपछि उरुग्वेका लागि डियगो फोर्लानले बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा डोमिनिक अदियाको हेडरलाई लुइस स्वारेजले हातले बचाएका थिए । प्राप्त पेनाल्टीमा आसामोवा जियान चुकेका थिए । टाइब्रेकरमा घाना ४–२ ले पराजित भएको थियो ।

घाना पहिलो पटक विश्वकप सेमिफाइनल जाने लगभग पक्का थियो ।  स्वारेजको त्यो व्यवहारलाई घानाले आजसम्म पनि बिर्सन सकेको छैन । तर प्रशिक्षक एडोले त्यो पीडादायी यादले अहिलेको ब्ल्याक स्टार'हरुका लागि अर्थ नराख्ने  कुरामा जोड दिएका छन् ।

’म विगतका घटनाहरुलाई सम्झिन चाहान्न । विना बदलाको भावनाले खेल्यौँ भने हामीले धेरै राम्रो खेल्न सक्छौं ,'दक्षिण कोरियासँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एडोले भनेका थिए ।

’आजको उरुग्वे फरक टोली हो । उरुग्वेसँग धेरै राम्रा स्ट्राइकरहरू छन्, धेरै अनुभवहरू छन्। जसका कारण हामीलाई धेरै गाह्रो हुनेछ। तर हामीले उनीहरूलाई हराउनको लागि सक्दो प्रयास गर्नुपर्छ।  हामी यो खेल जित्न सक्छौं भन्ने कुरामा म विश्वस्त छु।’, एडोले थपे ।