कतार विश्वकप २०२२

पोर्चुगल अन्तिम १६ मा

दोहा । ब्रुनो फर्नान्जेजको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगलले कतार विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह एच मा लागातार दुई जितपछि ६ अंक जोड्दै शीर्ष स्थानमा बसेको पोर्चुगल जारी विश्वकपको नकअउट चरणमा प्रवेश गर्ने तेस्रो टोली हो । यसअघि समूह डी बाट फ्रान्स र समूह जी बाट ब्राजिलले पनि एक खेल अगावै अन्तिम १६ को टिकट काटिसकेका छन् ।

पोर्चुगलले समूहको पहिलो खेलमा घानालाई ३-२ ले हराएको थियो । समूह एच मा घाना तीन अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको उरुग्वे र चौथो स्थानको दक्षिण कोरियाको सामन एक अंक रहेको छ ।

५४औं मिनेटमा फर्नान्जेजले गरेको गोलमा पोर्चुगलले अग्रता लिएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेजले पेनाल्टीको सदुपयोग गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए ।

यससँगै पोर्चुगलले सन् २०१८ को रुस विश्वकपको अन्तिम १६ मा व्यहोरेको हारको बदलासमेत लिएको छ ।

नकाउट चरणमा स्थान बनाउन उरुग्वेले समूह चरणको अन्तिम खेलमा घानामाथि जित निकाले मात्र पनि त्यो पर्याप्त नहुन सक्छ । त्यसका लागि पोर्चुगल र दक्षिण कोरियाबीचको खेलको नतिजामा निर्भर हुनुपर्नेछ ।