कतार विश्वकप २०२२

स्विट्जरल्यान्डमाथि जित हासिल गर्दै ब्राजिल नकआउट चरणमा

काठमाडौं । स्विट्जरल्यान्डविरुद्ध तेस्रो भेटमा पहिलो जित हासिल गर्दै पाँच पटकको विश्व विजेता ब्राजिलले समूह चरणको एक खेल बाँकी रहँदै सोमबार कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

कासेमिरोले समय सकिन सात मिनेट बाँकी रहँदा गोल गरेपछि ब्राजिल दोहाको रंगशाला ९७४ मा स्विट्जरल्यान्डमाथि १-० को हकलाग्दो जित हासिल गर्न सफल भयो । स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले अधिकांश समय निराश पारेको ब्राजिली अग्रपंक्तिबाट उत्कृष्ट तालमेलमा विजयी गोल भएको थियो । चार खेलाडी संलग्न मुभलाई कासेमिरोले पेनाल्टी बक्सभित्रबाट गोलमा परिणत गर्नुअघि रोडरिगोले पास मिलाएका थिए ।

त्यसअघि ६५औं मिनेटमा भिनिसियस जुनियरको गोलमा ब्राजिलले अग्रता लिइसकेको थियो । तर भिडियो सहायक रेफ्री भिएआरले जुनियरले गोल गर्नुअघि रिचार्लिसन अफसाइड पोजिसनमा रहेको देखाएपछि ब्राजिलको अग्रता अस्वीकृत भएको थियो । 

विश्वकप फुटबलको इतिहासमा ब्राजिल र स्विट्जरल्यान्डबीच भएको यो तेस्रो भेट हो । १९५० मा ब्राजिलमै सम्पन्न विश्वकपमा दुई टिमबीच पहिलो पटक भेट हुँदा २-२ को बराबरी नतिजा निस्किएको थियो । पछिल्लो पटक दुई टिमबीच रुस २०१८ मा भेट भएको थियो । चार वर्षअघि समूह चरणमा दुई टोलीले फेरि एक-अर्काको सामना गर्दा १-१ को बराबरी नतिजा नकिालेका थिए ।

लगातार दोस्रो जितपछि ब्राजिल समूह ‘जी’बाट एक खेल अगावै अन्तिम १६ प्रवेश गर्यो । ब्राजिलले पहिलो खेलमा शुक्रबार सर्बियामाथि २-० को जित हासिल गरेको थियो ।

दुई खेलमा तीन अंकमै सीमित हुनाका बावजुद स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । समूहमा सोमबारै चाँडो गरि सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३-३ को बराबरी खेलेका कारण ब्राजिलसँग हारे पनि स्विट्जरल्यान्ड नकआउट चरण पुग्नका लागि समूहको अन्तिम खेलमा बराबरी नतिजा निकाले पर्याप्त हुनेछ ।

समूहको अन्तिम खेलमा शनिबार ब्राजिलले क्यामरुन तथा स्विट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल नकआउट चरण पुगिसकेको अवस्थामा बाँकी तीनवटै टोलीको अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ ।

स्विट्जरल्यान्डलाई अगाडि बढ्नका लागि समूहको अन्तिम खेलमा सर्बियासँग बराबरी गरे पर्याप्त हुनेछ । जवकि सर्बिया र क्यामरुनलाई आ-आफ्नो खेल जित्नुको विकल्प छैन ।

सर्बिया र क्यामरुन दुवैले जित हासिल गरेको खण्डमा गोलअन्तरमा यी दुईमध्ये एक अगाडि बढ्नेछन् ।