बेल्जियम

सुधारिएको प्रदर्शनसहित अन्तिम १६ मा प्रवेश गर्ने बेल्जियमको लक्ष्य

दोहा । क्यानडामाथि जितसहित कतार विश्वकप २०२२ मा उत्कृष्ट सुरुआत गरेको बेल्जियम सो खेलमा निक्लिएको नतिजाबाट सन्तुष्ट भए पनि प्रदर्शनमा भने सन्तुष्ट भएको छैन ।

बेल्जियमले आज समूह एफ को दोस्रो खेलमा मोरोक्कोको सामना गर्दैछ । 

बेल्जियम फटबलको सुनौलो पुस्ताको रुपमा रहेको यो टोलीका अधिकांश खेलाडीका लागि यो अन्तिम विश्वकप सहभागिता भएकाले उनीहरु उपाधिसहित सुखद बिदाईको समेत लक्ष्यमा छन् ।

क्यानडाविरुद्ध गोलको धेरै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा १-० को कठिन जित निकालेको बेल्जियम मोरोक्कोविरुद्ध सुधारिएको प्रदर्शनसहित आफ्नो उपाधि दाबेदारको  छबीलाई प्रमाणित गर्न चाहन्छ ।मोरोक्कोमाथिको जितले बेल्जियमको अन्तिम १६ को टिकट पक्का हुनेछ ।

समूह एफको शीर्ष स्थानको बेल्जियमको तीन अंक छ भने क्रोएसिया र मोरोक्कोको समान एक अंक छ । क्यानडा भने अंकविहिन छ ।

पहिलो खेलमा रुस विश्वकप २०२२ को उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको मोरक्को सोही लय बेल्जियमविघ पनि कायम रहोस् भन्ने चाहन्छ । 

मोरोक्को सन् १९८६ पछि पहिलो पटक विश्वकपको अीन्तम १६ मा प्रवेश गर्ने लक्ष्यमा रहेको छ ।

मोरक्कोविरुद्धको खेलमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु मैदानमा उत्रने सम्भावना उच्च रहेको छ । चोटबाट पूर्णरुपमा मुक्त नभएका कारण उनी क्यानडाविरुद्धको खेलमा भने मैदान उत्रिएका थिएनन् ।