कतार विश्वकप २०२२

एमबाप्पेको दुई गोलप्रेरित फ्रान्स डेनमार्कलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । किलियन एमबाप्पेको दुई गोलमा शनिबार डेनमार्कको चुनौती २-१ ले पन्छाउँदै साविक विजेता फ्रान्सले कतार विश्वकप २०२२ को नकआउट चरणको यात्रा पक्का गरेको छ ।

पहिलो खेलमा अस्ट्रेलियामाथि ४-१ को जित हासिल गरेको फ्रान्स यो जितपछि समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै अन्तिम १६ प्रवेश गर्न सफल भयो ।

अस्ट्रेलियालाई हराउँदा एक गोल गरेका एमबाप्पेको जारी विश्वकपमा व्यक्तिगत गोलसंख्या तीन पुगेको छ । कतार विश्वकपको उच्च गोलकर्ताको सुचीमा उनी इक्वेडरका इनर भ्यालेन्सियासँगै शीर्ष स्थानमा पुगेका छन् ।

दोस्रो विश्वकप खेल्दै गरेका एमबाप्पेको विश्वकपमा कुल गोलसंख्या सात पुगेको छ । फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेमा उनले जिनेदिन जिदानसँग बराबरी गरेका छन् ।

दोहास्थित रंगशाला ९७४ मा पेरिस सेन्ट जर्मनका फरवार्ड किलियन एमबाप्पेले ६२औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाए । थियो हर्नान्डेजले मिलाएको अवसरलाई दायाँ खुट्टाले गोलमा परिणत गरेका एमबाप्पेले समय सकिन चार मिनेट बाँकी रहँदा दोस्रो गोल गरे । एन्टोनी ग्रिजम्यानको क्रसलाई एमबाप्पेले विजयी गोलमा परिणत गरेका थिए ।

यसबीचमा आन्द्रेस क्रिस्टेनसनको हेड गोलमार्फत ६९औं मिनेटमा डेनमार्कले केही समयका लागि खेल बराबरीमा ल्याएको थियो ।

फ्रान्सले ६ अंकका साथ एक खेलअगावै नकआउट चरणको टिकट काट्दा समूहबाट अन्तिम १६ पुग्ने दोस्रो टोलीको निर्णय बुधबार हुने समूह चरणको अन्तिम खेलबाट हुनेछ ।

समूह चरणको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया तथा डेनमार्कले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछन् । शनिबारै चाँढोगरि सम्पन्न खेलमा ट्युनिसियालाई १-० को नतिजामा हराएको अस्ट्रेलिया तीन अंकका साथ समूहको दोस्रो स्थानमा छ भने डेनमार्क र ट्युनिसियाको खातामा समान एक अंक छ ।

पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।