कतार विश्वकप २०२२

विश्वकपमा लेवान्डोवस्कीको पहिलो गोल

काठमाडौं । रोबर्ट लेवान्डोवस्कीले विश्वकपमा गोलको खाता खोलेको दिन साउदी अरेबियामाथि २-० को जित हासिल गर्दै पोल्यान्डले कतार विश्वकप २०२२ को नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा मंगलबार मेक्सिकोसँग गोलरहित बराबरी खेलेको पोल्यान्ड शनिबार साउदीमाथि जित हासिल गरेपछि चार अंकका साथ समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबारै पहिलो दिन भएको समूहको अर्को खेलमा साउदीले दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनामाथि २-१ को स्तब्धतापूर्ण जित निकालेको थियो ।

साउदी तीन अंकका साथ दोस्रो स्थानमा रहँदा मेक्सिको एक अंकका साथ तेस्रो स्थानमा छ । पहिलो अंकको खोजीमा अर्जेन्टिनाले समूहको दोस्रो खेलमा आजै मध्यरातमा १२ः४५ बजे मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ ।

नतिजा हात पार्न नसके पनि साउदीले पकड जमाएको खेलमा पियोट्र जिलिनस्कीको गोमला पोल्यान्डले मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा अग्रत लिएको थियो । पोल्यान्डका कीर्तिमानी उच्च गोलकर्ता लेवान्डोवस्कीले विश्वकपमा गोलको खाता खोल्न सकेका थिएनन् ।

तर शनिबार पोल्यान्डका दुवै गोलमा उनको योगदान रहयो । एक सय ३५ खेलमा ७६ अन्तर्राष्ट्रिय गोल गरेका लेवान्डोवस्कीको पासमा जिलिनस्कीले पोल्यान्डलाई अग्रता दिलाएका थिए ।

उनैले समय सकिन आठ मिनेट बाँकी रहँदा विश्वकपमा पहिलो गोल गर्दै साउदीले चरम दबाब दिइरहेको खेलमा पोल्यान्डको जित निश्चित गरे । यो विश्वकपमा लेवान्डोवस्कीको पहिलो व्यक्तिगत गोल भए पनि समग्रमा भने ७७औं अन्तर्राष्ट्रिय गोल थियो ।

पहिलो हाफको इन्जुरी समयमा साउदीका सलिम अल डावसारीले पेनाल्टीको मौका खेर फाल्दा टोली खेल बराबरीमा ल्याउने हकलाग्दो अवसरबाट चुकेको थियो । उनको प्रहार विपक्षी गोलकिपर ओज्सिच जेजेस्नीले बचाएपछि रिबाउन्डमा प्राप्त बलमा मोहम्मद अल बुरायकले पुनः प्रहार गरेका थिए । तर दोस्रो प्रहार पनि जेजेस्नीलाई छिचोल्न सफल भएन ।

समूहमा आजै अर्जेन्टिना र मेक्सिकोले प्रतिस्पर्धा गर्नेछन् भने डिसेम्बर एकमा पोल्यान्डले अर्जेन्टिना तथा साउदीले मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछन् ।