कतार विश्वकप २०२२

नेदरल्यान्ड्स र इक्वेडरबीचको बराबरीपछि कतार विश्वकपबाट बाहिरियो

काठमाडौं । नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १-१ को बराबरीमा टुंगिएसँगै शुक्रबार आयोजक कतार आफ्नै देशमा जारी विश्वकपबाट बाहिरिने पहिलो देश बनेको छ ।

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा टुंगिएपछि अब समूहको अन्तिम खेलमा जस्तोसुकै नतिजा निस्किए पनि कतारको यात्रा अगाडि बढ्ने सम्भावना छैन ।

समूह ‘ए’अन्तर्गत दुई खेलको समाप्तीमा दुवै खेल हारेको कतारको खातामा एउटै अंक छैन । समान एक जित र एक बराबरी नतिजा निकालेका नेदरल्यान्ड्स र इक्वेडरले समान चार अंक जोडेका छन् ।

यसैगरी शुक्रबारै चाँढो गरि सम्पन्न खेलमा कतारमाथि ३-१ को जित हासिल गरेको सेनेगलको खातामा तीन अंक छ । कतारवाहेक बाँकी तीनै टोलीको अन्तिम १६ पुग्ने सम्भावना कायम रहेकाले नकआउट चरण जाने टोलीको टुंगो समूहको अन्तिम खेलले मात्र गर्नेछ ।

समूह चरणको अन्तिम खेलमा मंगलबार कतारले नेदरल्यान्ड्स तथा इक्वेडरले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार अल खलिफा रंगशालामा कोडी गाक्पोको गोलमा नेदरल्यान्ड्सले छैटौं मिनेटमै अग्रता लिए पनि निक्कै जुझारु प्रदर्शन गरेको इक्वेडरबाट सबै तीन अंक लिन डच टोली सफल भएन ।

डेभी क्लासेनले उत्कृष्ट ट्याकल गर्दै बल पोसेसन आफ्नो टिमको पक्षमा पारेको मौका छोपी पेनाल्टी बक्स बाहिरबाट गाक्पोले वायाँ खुट्टाले गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।

एक गोलले पछि परिसकेपछि खेलमा पूर्ण रुपमा नियन्त्रण लिएको इक्वेडरले विपक्षी पोष्टमा पहिलो हाफमै आधा दर्जनभन्दा बढि पटक धावा बोल्यो । यही क्रममा पहिलो हाफको इन्जुरी समयमा पेर्भिस स्टुपिनानले इक्वेडरका लागि गोल गरेका थिए । तर भिडियो सहायक रेफ्रीले ज्याक्सन पोरोजो अफसाइड पोजिसनमा रहेको देखाएपछि दक्षिण अमेरिकी टोली निराश बन्नुपर्यो ।

तर टोलीको त्यो निराशा धेरैबेर कायम रहेन । इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै बराबरी गोल गरे । स्टुपिनानको प्रहार डच गोलकिपर एन्ड्रिस नोपेर्टले बचाउँदा रिबाउन्डमा प्राप्त बललाई भ्यालेन्सियाले बराबरी गोलमा परिणत गरेका थिए ।

जारी विश्वकपमा भ्यालेन्सियाको यो तेस्रो व्यक्तिगत गोल हो । पहिलो खेलमा आयोजक कतारमाथि २-० को जित हासिल गर्दा दुवै गोल भ्यालेन्सियाले गरेका थिए । विश्वकपका पाँच खेलमा लगातार गोल गर्न सफल भएका भ्यालेन्सियाको यो समग्रमा छैटौं विश्वकप गोल हो ।

विजयी नतिजा निकाल्न नसके पनि इक्वेडरले सबै पक्षमा खेलमाथि नियन्त्रण कायम राखेको थियो । विपक्षी पेष्टमा कुल १४ पटक आक्रमण गर्ने क्रममा इक्वेडरका ६ प्रहार विपक्षी खेलाडीले रोकेका थिए भने दुई प्रहार पोष्टको दिशा लिन सफल भएनन् ।

जवाफमा नेदरल्यान्ड्सले भने दुई पटकमात्र विपक्षी पोष्टमा आक्रमण गर्न सकेको थियो । बल पोसेसनमा भने नेदरल्यान्ड्स हावी रहयो । इक्वेडरले ४६ प्रतिसत समय बल आफूसँग राख्दा नेदरल्यान्ड्सको बल पोसेसन ५४ प्रतिसत थियो ।

खेलमा पहेलो कार्ड सामना गरेका इक्वेडरका जेघ्सन मेन्डेजले आगामी खेल प्रतिबन्धमा गुमाउने छन् ।