कतार विश्वकप २०२२

लगातार दोस्रो हारपछि कतार समूह चरणबाटै बाहिरिने निश्चित

काठमाडौं । उद्घाटन खेलमा पराजय भोग्ने पहिलो आयोजक बनेको कतार आफ्नै देशमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

पहिलो खेलमा इक्वेडरलाई २-० को नतिजा सुम्पिएको कतार समूह ‘ए’को खेलमा शुक्रबार अफ्रिकी प्रतिद्धन्द्धी सेनेगलसँग ३-१ ले पराजित भयो । यो हारपछि दुई खेलको समाप्तीमा एउटै अंक जोड्न नसकेको टोली नकआउट चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी छ ।

कतार अगाडि बढ्नका लागि कतारले तेस्रो खेलमा नेदरल्यान्ड्समाथि फराकिलो जित हासिल गर्नुपर्नेछ । सँगै इक्वेडरले आज राति नेदरल्यान्ड्स तथा लाई र मंगलबार सेनेगललाई हराउनुपर्नेछ ।

समूहको पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगलमाथि २-० को जित हासिल गरेको थियो ।

पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरे पनि कतारले नतिजा भने ल्याउन सकेन । मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा रक्षक बौावलिम काउखीको गम्भीर गल्तीमा बौलाये डियाले गोल गर्दै सेनेगललाई अग्रता दिलाएपछि कतार खेलमा फर्किनै सकेन ।

काउखीले क्लियर गर्न खोज्दा फुत्किएको लुज बललाई डियाले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । मध्यान्तरपछिको तेस्रो मिनेटमै फामारा डिहिउले सेनेगलको अग्रता दोब्बर पारे । इस्माइल ज्याकोबको कर्नरलाई हेडमार्फत डिहिउले सेनेगलको दोस्रो गोल गरेका थिए ।

मोहम्मद मुन्टारीले समय सकिन १२ मिनेट बाँकी रहँदा कतारका लागि विश्वकप इतिहासमै पहिलो गोल गरे । इस्माइल मोहम्मदको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै मुन्टारीले कतारको खेलमा फर्किने संकेत गरेका थिए ।

तर, ८४औं मिनेटमा अहमदु बाम्बा डिइङले सेनेगलका लागि तेस्रो गोल गरेपछि घरेलु मैदानमा पुनरागमन जनाउने कतारको सम्भावना समाप्त भएको थियो ।

समूहमा आर्ज राति ९ः४५ बजे नेदरल्यान्ड्स र इक्वेडरबीच खेल हुनेछ । त्यो खेलमा बराबरी नतिजा निस्किए कतार प्रतियोगिताबाट बाहिरिनेछ ।

यसैगरी मंगलबार समूहको अन्तिम खेलमा कतारले नेदरल्यान्ड्स तथा सेनेगलले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछन् ।